
काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल्खुस्थित मदननगरमा एमाले पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्याश गरेका छन् ।
१२ वैशाख २०७२ सालको भूकम्पले पूरानो भवनमा क्षति पुर्याएको थियो । त्यसपछि पार्टी कार्यालय धुम्बाराहीमा सारिएको भए पनि भवन निर्माणको काम भएको थिएन । भूकम्प गएको ५ वर्षपछि बल्ल बिहीबार भवन शिलान्याश गरिएको हो ।
भवन शिलान्याशका लागि पार्टी अध्यक्ष ओलीले नेता माधवकुमार नेपाललाई पनि बोलाएका थिए । तर, नेपाल आफ्नो व्यस्तता देखाउँदै बल्खु पुगेनन् र ओली एक्लैले भवन शिलान्याश गरेका हुन् ।

एमालेको नयाँ बन्ने भवन नेपालकै अहिलेसम्मको अत्याधुनिक पार्टी कार्यालय हुनेछ । सभाहल, बैठक कक्षसहित पर्याप्त पार्किङको सुविधा हुने गरी भवनको डिजाइन गरिएको छ ।
भवन शिलान्यश गरिएको भए पनि निर्माण लागत र निर्माण अवधिबारे भने केही खुलाइएको छैन । यद्यपि, जतिसक्दो चाँडो भवन निर्माण गरी पार्टी कार्यालय सञ्चालनमा ल्याइने एमालेले जनाएको छ ।
ढिलोमा पनि दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्न लक्ष्य राखिएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको हो ।















प्रतिक्रिया