बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

वडा अध्यक्षद्वारा लेखापालमाथि हातपात

माधव बेल्बासे २०७८ वैशाख ७ गते १०:५३

चन्द्रौटा, ७ वैशाख । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका एक वडा अध्यक्षले लेखापाल माथि हातपात गरेका छन् ।

सोमबार कृष्णनगर नगरपालिका–६ का अध्यक्ष देवानन्द शुक्लाले नगरपालिकाका लेखापाल सन्तोष पन्थीमाथि हातपात गरेको भन्दै कर्मचारीहरुले पेन डाउन गरेका छन् । आइतबार लेखा प्रमुख पन्थीले वडा अध्यक्षको विल भरपाईमा आएको बेरुजुको बारेमा बुझाउँदै गर्दा वडा अध्यक्षले एक्कासी हातपात गरेको र कार्यालय तोडफोड गरेको पन्थीले बताए ।

कर्मचारी माथि कार्यालय समयमा जनप्रतिनिधिबाट हातपात भएपछि नगरका सम्पूर्ण कर्मचारीले असुरक्षित रहेको विज्ञप्तिमार्फत बताएका छन् । कर्मचारीमाथि भएको दुर्व्यवहार र हातपातका कारण नगरपालिकाका कर्मचारीले सोमबार पेन डाउन गरेको प्रमुख प्रशासकीय अधिकृत विजय कार्कीले बताए ।

वडाअध्यक्ष शुक्लाले भने आफूले हातपात नगरेको बताएका छन् । आफ्नो नाममा आएको यातायात र खाजा नास्ताको बेरुजुको भौचर देखाउन लेखापाललाई आग्रह गर्दा नदेखाएको र उल्टै धम्की दिएकाले भनाभन भएको उनले स्वीकार गरेका छन् ।

कर्मचारी र नगर प्रमुखको मिलेमतोमा आफूलाई अफ्ठ्यारो पार्न खोजेको अध्यक्ष शुक्लाको भनाइ छ । नगरपालिका प्रमुख रजत प्रताप शाहले कर्मचारीमाथि जनप्रतिनिधिले हातपात गर्नु गलत कार्य भएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित