मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

सिटिजन्स बैकको नाफा ४१.६१ प्रतिशतले बढ्यो

दैनिक नेपाल २०७८ वैशाख ७ गते ७:११

काठमाडौं, ७ वैशाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाफा उल्लेख्य वृद्धि भएको छ ।

कोरोना महामारीका बीच सिटिजन्सले उक्त अवधिमा खुदनाफा ४१.६१ प्रतिशतले बढाउन सफल भएको छ । चैतसम्म बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा ९ महिनाको अवधिमा ४५ करोड ४० लाख रुपैयाँ खुदनाफा बढाएको उल्लेख छ ।

सो नाफाबाट सेयरधनीलाई १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने बैंकले जानकारी दिएको छ । निक्षेप परिचालन तथा कर्जा प्रवाहमा भएको वृद्धिका कारण खुदब्याज आम्दानी र अन्य आयमा भएको बढोत्तरीले खुदनाफा गत आर्थिक वर्षको भन्दा सुधार देखिएको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकले ९ महिनामा २ अर्ब ५४ करोड रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुदब्याज आम्दानी २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर २०.७२ रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी १६.८७ रुपैयाँ थियो । यस्तै प्रतिसेयर कितावी मूल्य १४६.८७ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात १.८३ प्रतिशत छ । निक्षेप लागत घटेर ५.७१, प्राथमिक पूँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.१३, आधारदर ७.४४ र ब्याजदर अन्तर (स्प्रेड) ३.८६ प्रतिशत रहेको बैंकले जनाएको छ ।

बैंकको सञ्चित कोषको आकार बढेर ४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । ९ महिनामा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि बढेर १ खर्ब ८ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित