बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन आगामी जेठमा

दैनिक नेपाल २०७८ वैशाख ४ गते १५:२३

काठमाडौं, ४ वैशाख । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन आगामी जेठ तेस्रो साता हुने भएको छ ।

महासंघको राजधानीमा बसेको केन्द्रिय कार्यसमितिको ११औं बैठकले आगाामी जेठ २४, २५ र २६ गते २५औं महाधिवेशन तथा २२औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७ वटै जिल्लामा अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्ने छ ।

बैंठकमा महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले महासंघको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक प्रतिवेदन पेश गरेका थिए । विगतमा भएका केन्द्रीय सचिवालय समिति बैठकका निर्णयहरूको जानकारी र कार्यव्यवस्थापन समिति बैठकका निर्णयहरुको बैठकले अनुमोदन गरेको थियो ।

महाधिवेशनका लागि समान प्रकृतिका संघसंस्थासँग एकीकरणका सम्बन्धमा बैठकले निर्णय गरेको थियो । महासंघले नेपाल नवीकरणीय ऊर्जा परिसंघसँग एकीकरणका सन्दर्भमा प्रक्रिया अगाडि बढाएको छ ।

परिसंघ नेपालमा नवीकरण उर्जा प्रविधि विकास र विस्तारमा लागि क्रियाशील रहेका निजी क्षेत्रका कम्पनीहरु र फर्महरुको छाता संगठन र गैरसरकारी संस्थाहरुको एकल संस्थाको रुपमा रहेको गैरनाफामूलक गैरसरकारी संस्था हो । बैठकमा परिसंघका अध्यक्ष गुणराज ढकालले महासंघसँग एकीकरण गर्न गरेको निर्णयसम्बन्धी जानकारीपत्र महासंघका अध्यक्ष श्यामप्रसाद गिरीलाई हस्तान्तरण गरेका थिए ।

बैठकमा महासंघका अध्यक्ष श्याम गिरी, निवर्तमान अध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष सूर्य कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । बैठकले महासंघको विद्यमान विधानका केही दफाहरुमा संशोधन गर्ने निर्णय गर्दै संशोधित विधानका विषयमा आगामी वैशाख २५ गते विशेष साधारणसभामार्फत संशोधित विधान पारित गर्ने निणय समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित