बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको आग्रह

दैनिक नेपाल २०७८ वैशाख ३ गते १५:४३

काठमाडौं, ३ वैशाख । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी भएको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्न समेत निर्देशन दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकमा मन्त्री श्रेष्ठले अहिलेको विषय परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताए । प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएम)ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकार रहेको छ ।

उनले स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम उल्लेख गरेका १४ वटा जिल्ला र शहरमा विद्यालय बन्द गर्दा देशैभर विद्यालय बन्द गर्ने निर्णय डीसीसीएमले गर्न सक्ने बताए । मन्त्रालयले हालैका दिनमा कोभिड–१९ को संक्रमण पुनः वढ्दो अवस्थामा रहेको र त्यसबाट विशेषतः विद्यालय जाने उमेर समूहका विद्यार्थीहरूमा संक्रमण फैलिन सक्ने भनी व्यक्त भएका चिन्ता र चासोप्रति मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै वक्तव्य जारी गरेको छ ।

मन्त्रालयल चैत्र ३० गते सरोकारवालासँग भएको अन्तरक्रियामा प्राप्त सुझावहरू समेतका आधारमा पछिल्लो वस्तुस्थितिको समीक्षा गरी विद्यमान अवस्थामा शिक्षण संस्थामा अनावश्यक भय त्रास सृजना गर्न नहुनेमा सबै पक्ष सचेत रहनु पर्ने समेत उल्लेख छ ।

स्वास्थ्य सम्वेदनशीलतालाई ख्याल गरी थप सजगता अपनाउनु सबैको कर्तव्य रहेकाले नेपाल सरकारबाट थप निर्णय वा निर्देशन नभएसम्म मन्त्रालयले जनस्वास्थ्यसम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट तय गरिएका थप मापदण्डको पनि पालन गर्नगराउन तथा शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, सावुन पानीले हात धुने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउनु आग्रह गरेको छ ।

मन्त्रालयले ३ बुँदे निर्देशन जारी गरी भीडभाड नहुने गरी विद्यार्थीको संख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको पछिल्लो अवस्था समेतलाई विचार गरी स्थानीय तहसँग समन्वय गर्न, विद्यालय बन्द वा तोकिएबमोजिम सञ्चालन गर्न र बन्द गरिएका विद्यालयहरू पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ मा तोकिएका विधि तथा प्रक्रियाहरूको पालना गर्नाका साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइ क्रियाकलापहरूलाई निरन्तरता दिन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित