शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नियात्रा : सम्झनामा बेलायती पानीजहाज- क्रुज ब्रिटानिय

भीम राई २०७७ चैत ३१ गते ७:३७

भीम राई

जिन्दगीभरी पलाएका दिलचस्पी रहरहरू पुरागर्ने सबैभन्दा उत्तम उपाय भनेको पानीजहाज नै हो । त्यसको अन्य बिकल्प हुनै सक्त्तैन भन्नेकुरो पूर्ववर्ती पानीजहाजहरुको यात्रा गरेर मैले चाल पाएका थिएँ । आधुनिक जमानाका पानीजहाज ‘क्रुजहरू’ ज्यादै भोग विलासको साथसाथै अति आरामदायी हुने गर्दछन । त्यस्तो आरामदायी क्रुजमा जलयात्रा गर्दै बिश्व भ्रमण गर्नुको सुन्दर पक्ष भनेको हरेक बिहान नयाँ सहरमा ब्युँझन नै हो । किनभने क्रुज प्रत्येक बिहान नयाँ बन्दरगाहमा रोकिन्छ र त्यहाँ अर्को सहरले सगौरव आकर्षण गरिरहेको हुन्छ ।

मैले तारासँग पटकपटक स्क्यानडेनिभियन मुलुकहरू घुमिसकेका थिएँ । आफ्नो हृदय नखुम्च्याई साँच्चै भन्नेहो भने आब्बाको मुलुकदेखि नोबेल पुरुस्कारका उदगम मुलुकहरु ज्यादै बिकशित छन् । र, त्यहाँका मानिसहरु आँधिपेट खान नपाएका भोकमारी नेपाली जनताहरु जस्ता पटक्कै छैनन् । त्यसैले उनीहरु अति हाँसीखुशिका साथ बाँचीरहेका देखिन्छन् । हामी डेनमार्क, फिनल्याण्ड, स्वीडेन र नर्वेको राजधानीहरु पहिले नै पुगिसकेका थियौ । आइसल्याण्ड चाँही पुगिहालेका थिएनौ । त्यहाँ पुगेर उत्तरी बत्ती ‘नर्दन लाइट’ हेर्ने जिन्दगीमा ठूलो धोको थियो । तर त्यसबेलासम्म हामीले त्यहाँ जाने समय मिलाउन सकेका थिएनौ ।

हरेक मानिसहरुले मर्नभन्दा अगाडी उत्तरी बत्ति हेरेर मर्नुपर्छ, भन्ने कहावत यदाकदा सुन्ने गरेका थियौ । तर हरेक मानिसहरुले आफुले सोचेको जस्तो सबै रहरहरु पुर्याउन के सक्थे होला र ? त्यसैले त्यो अहोभाग्य हामीलाई पनि जुरीहालेको थिएन । किनभने त्यो एकदम सही समयमा हुन जरुरी थियो । त्यसैले सबैकुरोको चाँजोपाजो मिलाउन अलिक मुश्किल परिरहेको थियो । खयर जेसुकै होस, माथी उल्लेख गरिएका राष्ट्रहरू सबै मनमोहक एबम अति सुन्दर छन् । तैपनि खै किन हो किन ? मलाई अर्को चोटी नर्वे दोहोर्याएर जान मन लागिरहेको थियो ।

नभन्दै मैले नर्वे जाने निधो गरे । अनि नर्वे जानको लागि सबैभन्दा उपयुक्त्त उपाय जलयात्रा नै हुन्छ होला भन्ने मनमनै ठोकुवा पनि गरे । हुनत कोहीकोही मानिसहरु नशाको कुलतमा फसेझै जलयात्राको कुलतमा म फसिसकेको थिएँ । त्यो लतमा थिएँ, त्यसैले तारालाई पत्तै नदिइ बृटानिय क्रुजदेखि ‘नर्वेजियन फियोर्डको’ एकहप्ते यात्रा आरक्षण गरिहाले । बृटानिय क्रुज तिनै क्रुज हुन । जुन बेलायती ‘पिएन्डओ’ क्रुज कम्पनीको इतिहासमा सबैभन्दा ठूलो एबम सन् २०१९ सम्म बनेका क्रुजहरु मध्ये सबैभन्दा नयाँ क्रुज थियो ।

हामीले प्रायः सबै महासागरका पानीलाई छोइसकेका थियौ । त्यति मात्र नभएर कैयन स-साना सागर तिर पुगेर पौडी खेलेका थियौ । तर ‘नर्वेजियन फियोर्ड जलयात्रा’ संसारका अत्याधिक मानिसहरुले रुचाएको जलयात्रा मध्यको एक हो । किनभने त्यस यात्रामा नर्वेको प्राकृतिक रङ्ग मञ्चीय दृश्य, वन जङ्गल, खोला–नाला, झरना, डाँडा–काँडा, ताल–तलैया र उँच्च हिमश्रृखँलाहरूको सुन्दर दृश्यावलोकन मज्जाले गर्न सकिन्छ । त्यसैले बिश्वभरीका मनुष्यहरुले त्यस जलयात्रालाई हरेक मानव जीवनले अनुभव गर्ने ‘स्वर्गीय जलयात्रा’ भनेर उँच्च तारिफ गर्ने गरेका छन् ।

फियोर्ड जलयात्रा जतिसुकै राम्रै भएतापनि स्क्यानडेनिभियन राष्ट्रहरुको मौसम सदाबहर राम्रो हुदैनन् । उत्तरी गोलार्धमा रहेका ती मुलुकहरु अत्याधिक जाडो मौसमका मुलुकहरु हुन् । तर यस धर्तीमा त्यस मौसमको ठीक विपरीत मौसम पाइने स्थानहरु पनि प्रशस्तै रहेकाछन् । जहाँ सुख्खा खडेरीले वयस्क हुन नपाउँदै खजुरका रूखहरू जिउँदै सुक्दै मर्दै गर्छन् । तीनै रुखहरुको मृत्यु पश्चात् बैमनुष्यता सहित मध्यान्हको नमिठो घामले मरुभूमीमा टलक्कै टल्किने वालुवासँग मितेरी गाँस्छन ।

हुनत ठण्डा र गर्मी मौसम दुवै मेरा लागि अति पृय छन् । किनभने जाडोमा पुग्दा गर्मीको आशा गर्छु र गर्मीमा हुँदा जाडोको पक्षपोषण गर्छु । त्यसैले आफ्नो मन शान्ति पार्नको लागि नोर्डिक राष्ट्र र खाँडी राष्ट्रहरुको छुट्टी एकैचोटि त्यसबेला आरक्षण गरेको थिएँ । फरक मात्र के थियो भने खाँडीमा बेलायती क्रुजको सट्टामा अमेरिकन क्रुज रोयल क्यारिबियन आरक्षण गरेको थिएँ । रोयल क्यारेबियनको ‘जेवेल अफ द सिज’ बाट हुने त्यो जलयात्रा चाँही मेरो जिन्दगीको ११औं जलयात्रा थियो । अनि फेब्रुवरी २०२० मा हुने त्यस क्रुजले हामीलाई पर्सियन खाँडी राष्ट्रहरूको भ्रमण गराउँदै थियो ।

मेरा पाठकहरु, हामीले बेलायतलाई दोश्रो घरको रुपमा हेरेको लगभग दुई दशक भइसकेको थियो । त्यति लामो समय भएतापनि होमरको शाहसिक यात्रा किताप पढेपछि समय समयमा एक ठाँउदेखि अर्को ठाँउ बसाई सर्ने क्रम जारी राखेका थियौ । केहिबर्ष अगाडी मात्र पाँचवटा हिउँदहरु कटाएका लिभरपुल सहरलाई सधैको लागि बिदा गर्दै बानबुरी भन्ने सानो गाँउमा बसाई सरेका थियौ । तीनै सानो बानबुरी गाउँदेखि एकदिन अगाडी घर छाडेर क्रुज यात्राको लागि साउथाम्पटन पुगेका थियौ ।

साउथाम्पटन सहर पुगेर ‘लियोनार्डो राजकीय होटलमा’ आरामदायी एकरात बितायौ । त्यसको भोलिपल्ट १० जुन २०१९ को दिन थियो । ग्रिनविच समय अनुसार बिहानको ठिक १० बज्दै गर्दा हामी ‘ओसन टर्मिनल’ साउथाम्पटनको मूख्य ढोका अगाडी पुगेका थियौ । र, भिन्टेज मर्सिडिजदेखी झर्दै नझरी हाम्रा क्रुजका सहयात्रीहरु पर्खेर बस्न थाल्यौ । नभन्दै उनीहरु सँग केहिबेर अगाडीसम्म फोनमा बोलिरहेका थियौ । एक्कैछिनमा टुपल्क्कै हाम्रो सामु आइपुगि हाले । हामीले तिनै हाम्रो सहयात्री क्रिश र सानुसँग संसारको बिभिन्न कुनाकुनामा पुगेर तिता मिठा अनुभवहरु मज्जाले सँगालेर राखेकाछौ ।

‘दाई ! होटलको समय कस्तो रह्यो ?’ हामीलाई देख्ने बित्तिकै क्रिशले सानो स्वरमा जिज्ञासा ब्यक्त गरे ।

‘रातभरि मुसलधारे पानी पर्यो । तिनै पानीले होटलको छानोमा भरेको संगीतले हामी राम्रोसँग सुत्न सक्दै सकेनौ,’ मैले संक्षिप्तमा भने । मेरो अशुभ समाचार सुनेर उनले बेखुशि हुदै ‘च्व च्व’ भनेर प्रतिउत्तर फर्काए । त्यसरी अघिल्लो रात बर्सिएको बेसरम बर्षाले सहरको बाटोहरु मज्जाले भिजिरहेको थियो । हाम्पसायर जिल्लाको मध्यवर्ती भाग हुँदै बहेर आउने ‘इटचन नदी’ कालोमैलो हुँदै साउथाम्पटान जलाशयको थुतुनोसम्म बेस्सरी उर्लिरहेको देखिन्थ्यो ।

जे होस सहयात्रीहरुसँग हाम्रो भेटघाट भयो । त्यसपछि क्रुज टर्मिनल नजिकै रहेको कारपार्कमा आ–आफ्नो कारहरु पार्क गरेर राखि छाड्यौ । केहि धिला नगरी पानीजहाजमा पहिरन गर्नुपर्ने लुगाफाटाले टन्न भरिएको एक-एकवटा रबरका सुटकेशहरु सडकको पेटीबाट सरर गुडाउँदै बन्दरगाहतर्फ लाग्यौ । साउथाम्पटनमा अवस्थित त्यो बन्दरगाह बेलायती पानीजहाज ‘पिएन्डओ’ क्रुज कम्पनीको घरायसी बन्दरगाह हो । हामीले त्यँही बन्दरगाहदेखि पटक–पटक अन्य कम्पनीका पानीजहाजहरू चढेर युरोपको यात्रा गरेका थियौ । तर त्यहाँदेखि पिएन्डओको पानीजहाज चढ्दै गरेको निश्चय नै पहिलो अनुभव थियो ।

साउथाम्पटन सहरमा रातभरी पानी परेको भएतापनि बिहानीपख घामको मुहार राम्रै देख्न सकिएको थियो । केहि अन्यथा नलिनु होला ? बेलायती मौसम र बेलायती महिलाको भर हुन्न भन्ने सुनेको थिएँ । मेरो बिचारमा त्यसदिन ठेक्कै त्यस्तै भयो । त्यसबेला अचानक हामी माथिको आकासको रङ्ग एकदम निलो देखिएको थियो । पापी बादलका एकटुक्रा पनि देखिएका थिएनन् । त्यति सफा मौसमको फाइदा लिदै हामी चारजना ढल्किँदै ढल्किँदै सडकको पेटीमा हिडेर बन्दरगाहको अगाडी पुग्यौ । अध्यागमन भवनको मूख्य ढोका अगाडी एउटा फराकिलो सिढी थियो । तिनै सिढीको प्रयोग गरेर अध्यागमनको एकतला माथि चढ्यौ ।

तलामाथि पुग्ने बितिक्कै बेलायती यात्रृहरुको बिशाल भिड देखापर्यो । हुनत देशभन्दा बाहिर छुट्टी मनाउन जाने ठाँउतिर बेलायतीहरुको भिडभाँड सधै बाक्लै देख्ने गरिन्छ । त्यसैले साउथाम्पटन बन्दरगाह पनि त्यसकुरो बाट अछुतो रहन सकेको थिएन । तर सभ्य समाजमा बस्ने मानिसहरुको ब्याबहार बिलकुल फरक हुने गर्दछ । त्यति बाक्लो भिड भएतापनि उनीहरु एकदम अनुशासित भएर बसिरहेका देखिन्थे । अझ आ-आफ्नो घर छाडेर गृष्मकालिन छुट्टी मनाउन जाने भनेपछि उनीहरु प्रफुल्लित मुद्रामा थिएँ । हामी पनि त्यहाँ पुगेर उनीहरुको नक्कल गर्दै प्रफुल्लित मुद्रामा पथप्रदर्शकहरुले देखाएको स्थानमा गएर थपक्क बस्यौ ।

हामी जहाँ बसिरहेका थियौ । त्यसको सिधै अगाडी टिकट जाँच गर्ने टेबलहरु लहरै थिएँ । तिनै टेबलहरुमा जहाजका कर्मचारीहरूले पालैपालो यात्रीहरुको कागज पत्रहरू जाँच गरिरहेका देखिन्थे । केहिबेरपछि हामीलाई पनि बोलाहट भयो । उनीहरुले बोलाएपछि आ-आफ्नो सुटकेसहरु तानेर हामी उनीहरुको सामुन्ने खडा भयौ । उनीहरुले पानीजहाजको टिकट, राहदानी र अग्रिम आरक्षण गरेको कोठा नम्बरहरु सोधे । कोठाको नम्बर दोश्रो पटक निश्चित गर्दै हाम्रो कोठा खोल्ने चाबी ‘कार्ड’ उनीहरुले हामीलाई हात लगाइ दिएँ ।

कोठाको चाँबी हातमा परेपछि औधि खुशि भयौ । मेरा पाठकहरुलाई स्मंरण गराउन चाहन्छु । पानीजहाज यात्रामा पाइने त्यो कार्ड पनि अचम्मैको जादुमय छ । केबल त्यस चाँबीले जहाजमा आफु सुत्ने कोठा खोल्ने र बत्ति बाल्ने मात्र काम गर्ने छैन । त्यहाँ भएका १० वटा रेस्टुरेन्टहरुमा किनेर खाना खान, लुगाफाटा किन्न, गरगहना खरिद गर्न र १३ वटा भट्टी पसलहरूमा पेय पदार्थ किन्न सहजीकरणको भूमिका निर्बाह गर्दछ । त्यो कार्ड साथमा भएपछि पानीजहाजका यात्रीहरुले कुनबेला कहाँ के कति खर्च भयो होला भनेर केही सुर्ता गरीरहन पर्दैन । जहाजभित्र जे सुकै खरिद गरेपनि ठूलो मान्छे भएर त्यो कार्ड सुङ्गाउदै सहिगर्दै हिडदा भइहाल्छ । तर जब पानीजहाज छाड्ने दिन आउछ । त्यसदिन एकमुष्ट हिसाब निस्किदा अलिक हृदय दर्हो बनाउन जरुरी पर्दछ ।

पानीजहाज चढने टिकटको जाँच भएपछि हाम्रा सुटकेसहरू कर्मचारीहरूले उनीहरूको साथैमा राखे । किनभने ती सुटकेसहरु भरियाहरुले आ-आफ्नो कोठाको सामु पुर्याइ दिने चलन रहेको थियो । त्यसपछि उनीहरुले हाम्रो समुहको लागि एउटा ठूलो निलो कार्ड दिएँ । हामी तिनै कार्डलाई समातेर पुनः कुर्सीमा फर्केर बस्यौ । अध्यागमनको भवनभित्र बातावरण मधेशको माछा ब्यापार जस्तो देखिएको थिएन, अति शान्त थियो । उनीहरुलाई देख्दा मलाई यदाकदा यस्तो लाग्थ्यो । यदी सबै मानिसहरुले नियम कानुन मान्यो भने संसार कति रमाइलो हुने थियो होला ?

हामी कुर्सीमा पुगेर थपक्कै बसिरहेको थियौ । तर मनभरी खुशिका तरङ्गहरु बहाइरहेको थियौ । हाम्रो नर्वेजियन फियोर्डको यात्रा एकहप्ताको थियो । र, तीनै यात्रामा गरिने रमाइलो क्षणहरूको कल्पनामा डुबी रह्यौ । भवनभित्र हरेक सेकेण्ड सेकेण्डमा मानिसहरुको घुँइचो बढिरहेको थियो । मैले यसो कुर्सीदेखी उँभिएर त्यति धेरै यात्रीहरूको भिडलाई एक झमट हेरे । यात्रीहरुको भिड बर्षा मौसमको समयमा जमिन मुनीदेखि निस्कने कमिलाका ताँती झै मुनिको तलासम्म पङ्त्तिबध्द भएर पुगेका थिएँ । त्यति धेरै यात्रृहरूको हुल देखेपछि तत्कालिन समयमा विश्वभरि सेवा दिइरहेको ३ सय १८ वटा क्रुजहरुको बारेमा क्रिशसँग खुलेर खुब चर्चा गर्यौ । बिश्वभरिका तिनै क्रुजहरुले हरेकदिन ५ लाख ३७ हजार मानिसहरू बोकेर धर्तीको एक कुनादेखी अर्को गन्तब्यसम्म सेवा पुर्याइ रहेका हुन्छन् ।

‘नेपालमा भर्खर भर्खरै कम्युनिस्ट पार्टीको सरकार आएको छ । त्यसैले निकट भविष्यमा मानिसहरुलाई बिश्व भ्रमण गराउने उदेश्यले पानीजहाज ‘क्रुज’ किन्न गइरहेकोछ,’ क्रिशले सुस्तरी मुख खोलेर मलाई सुनाएका थिएँ । उनको भनाइलाई मैले तत्कालै बिश्वास गर्न सकिहालेको थिइन । तैपनि सहयात्रीको हृदय टक्रक्कै टुटाउन रहर लागेर आएन । त्यसैले, ‘काठमाण्डौमा पानीजहाजका कार्यालय खोलेको समाचार सुन्नमा आएको थियो,’ भनेर प्रतिउत्तरमा फर्काइ दिएँ । हाम्रो बार्तालाप सुनेर, ‘ए ! उसोभए आफ्नो देशको चन्द्रसूर्य झण्डा भएको पानीजहाजबाट पनि यात्रा गर्न पाइने रहेछ,’ भन्दै ताराले खुशि प्रकट गरिन । तर उनको भनाइ सुनेर म केहिबेर अवाक बनिरहे ।

नेपालले पानीजहाज किन्ने भनेको सुनेर ताराले प्रकट गरेकी खुशि मलाई अलिक अफ्ठ्यारो ठाँउमा आएको जस्तो लाग्यो । किनभने हामीले यात्रा गर्नै लागेको क्रुज ब्रिटानीयको निर्माण गर्न ४ सय ७३ मिलियन पाउण्ड लागेको थियो । अझै एकबर्ष अगाडी ६ हजार ६०० यात्रु बोक्ने क्षमता भएको विश्वको सबैभन्दा ठूलो ‘सिम्फोनी अफ द सिज’ निर्माण गर्न १ बिलियन ३५ मिलियन डलर लागेको थियो । त्यति बिघ्न लागेको स्टर्लिङ पाउण्ड वा अमेरिकन डलर नेपालीमा रुपान्तरण गर्दा खै कति हुने होला भनेर विचरी बुईपामा हुर्केकी तारालाई के थाहा होला र….? मैले मनमनै मलाई नै प्रश्न गरे ।

म त्यसबेला भिमकाया पानीजहाजहरुको खरिदमा लाग्ने पैसाको हिसाबमा डुबुल्की मारीरहेको थिएँ । हरियो, कालो र बैजनी रङ्ग पछाडी निलो कार्ड बोक्ने मानिसहरूलाई जहाज चढनको लागी ध्वनी प्रशारक यन्त्रबाट मधुरो आवाज उदघोषण गरियो । उदघोषण भए सँगसँगै हामी अरूभन्दा केहि अगाडि अध्यागमनतर्फ लागिहाल्यौ । सुरक्षा अधिकारीहरुले हाम्रा हाते झोलाहरूलाई मज्जाले चाँज गरे । त्यसपछि हाम्रा हृष्टपुस्ट शरीरहरू एक्स रे यन्त्रदेखि जाँचिए । एक्स रे यन्त्रलाइ अन्तिम चोटी हात उठाएर बिदाइ गर्दै सुस्तरी अगाडी बढन थाल्यौ । र, ‘ग्याङ वेमा’ रहेको सानो पुललाई पार गरेर जहाजभित्र कदम पार्यौ ।

‘यहाँहरुलाई पानीजहाजमा हार्दिक स्वागत गर्दछु,’ बिघ्नै सुन्दर मुहारका धनी फिलिपिनो स्वागतिकाले मधुर मुस्कान सहित हामीलाई पानीजहाजमा स्वागत गरिन । उनले हामीलाई स्वागत मात्र गरेकी थिइनन् । कृपया १६औ तलामा गएर लन्च खादै गर्नुहोला, जब तपाईहरुको कोठा सफा भइसक्छन तब हामी खबर गर्नेछौ सम्म भनिन । उनको भनाइलाई शिरोधार्य गर्दै बिजुलीको लिफ्ट चढेर हामी १६औ तलामा पुग्यौ ।

लिफ्टबाट निस्केको मात्रै के थियौ । टोस्टरमा डढ्दै गरेको रोटीको मगमग बासना मेरो थेप्चे नाकमा आएर ठोकिइ हाल्यो । त्यसपछि जहाँदेखी रोटीको बासना आएका थिएँ । हाम्रा पाइतालाहरु उतैतिर लागे । पाइलाहरु यसो दुई-चार कदम अघि बढेको मात्र के थियो हामी ‘होरिजन बफेट’ रेस्टुरेन्ट भित्र छिरिसकेका रहेछौ । होरिजन तिनै बफेट रेस्टुरेन्ट हो, जहाँ हरेक बिहानको ६ बजेदेखि भोली बिहानको २ बजेसम्म टनका टन खानाहरू खाने काम हुन्छ ।

‘पानीजहाज यात्राको एउटा असल पक्ष भनेको खानेकुरो पनि हो ।’ धेरै लामो समयपछि क्रिशले दोश्रोचोटी मुख खोलेका थिएँ । धेरै शान्त स्वभावका क्रिशले बोलेको त्यो वाक्यांश डढदै गरेको सुङ्गुरको बोसोसहितको बेकनको गन्ध सँगसँगै मिसिएर आएको थियो । अनि म उनको त्यस भनाइमा शतप्रतिशत सहमत पनि भएको थिएँ । किनभने हरेक पटकको क्रुजिङ्ग यात्रामा निस्कँदा मैले अलिकति भएपनि वजन थपेर घर फर्कने गरेको भुक्त्तभोगी थिएँ ।

हाते घडिले केहि अगाडी नै दिउसोको बार्ह बजाइ सकेको थियो । र, त्यसबेला रेस्टुरेन्ट देख्ने बितिक्कै मलाई अलिअलि भोक लाग्न थालेका थिएँ । त्यसैले उनको भनाइ सकिन नपाउदै मेरा कदमहरु निरन्तर अगाडी बढिरहे । एकछिनमा आँखाले देखिन्जेलसम्म भेगन, शाकाहारी र मांसाहारी खानाहरु देखेर मन्त्रमुग्ध हुन थालिहाले ।

‘खै तपाईहरू के के लिनु हुन्छ, कुन्नी ?’ कसैले सुने वा नसुने पनि मैले त्यसो भनि टोपले । र, एउटा खाली थाल टिपेर सरासर नुडल्स अड्डातिर लागिहाले । नुडल्स बारमा एकजना चाइनिज मुलका युबती भान्से थिइन । उनलाई ‘नि हाउ’ भन्दै पहिलो शब्दले प्रहार गरिहेरे । शँघाइ, चीनदेखि आएकी क्याथरिन चाङ्ले मलाई एकप्लेट तातोतातो शँघाइ नुडल्स तयार बनाइ दिईहालिन । नुडल्स तयार भएपछि उनकै भाषामा, ‘धेरै धन्यबाद छ,’ भने ।

मेरो म्याण्डरिन भाषा सार्है मामुली थियो । खियाँ परिसकेको मेरो भाषा सुनेर उनी थोरै मुस्कुराइन । चाइनिज भाषाहरु चाहे म्याण्डरिन वा क्यान्टोनिज ‘टनल ल्याङ्गुज’ भएको हुनाले एकदम गार्हो हुन्छ । कुनैकुनै एउटै शब्दको तीन-चार अर्थ लाग्ने गर्दछ । त्यसैले गलत अर्थ नलाग्ने गरेर एकदम सहि उच्चारण गर्नुपर्ने हुन्छ । जुन कुरो जो कोहिलाई निक्कै कठिन हुने गर्दछ ।

जे भएपनि मैले खियाँ परिसकेको एक दुईवटा चीनिया शब्दहरु त्यसबेला प्रयोगमा ल्याएको थिएँ । अझै त्यतिमात्रै होइन, शँघाइ यात्रामा छँदा हाङ्गपु नदीको बायाँ किनारमा रहेको वाइतान जिल्लामा बिताएका तितामिठा पलहरु उनीसँग बाँडीहेरे । त्यसपछि तीनै नुडल्समा उनको मिठो मुस्कान मिसाएर बिदा हुँदै रेस्टुरेन्ट बाहिरको ‘लाइडो डेकमा’ निस्के । किनभने त्यहाँदेखि साउथाम्पटन सहरको रमाइलो दृश्यावलोकन गर्न मिल्ने मैले केहिबेर अगाडी नै चाल पाइसकेको थिएँ ।

लाइडो डेकमा निस्केपछि कुर्सीमा थपक्कै आराम गरेर बसे । त्यसबेला मैले दुरदृष्टिमा एक्कासी पोर्टसमाउथ हारबरको सुन्दर दृश्य देखिरहेको थिएँ । कसोकसो तीनै हारबरदेखि आएको मन्दमन्द सामुन्द्रिक बतासले मेरो गालामा यदाकदा छोइरहेको जस्तो मलाई आभास हुन थाल्यो । ठिक त्यँहीबेला ओसन टर्मिनलमा मध्यान्हको मौसम ज्यादै सफा देखिन्थ्यो ।

त्यति राम्रो मौसम भएको समयमा इटचन र टेस्त नदीको सङ्गम स्थलमा ब्रिटानिय क्रुज लम्पसार उतानो परेर छाँती माथि आकाशतिर फर्काइ रहेको जस्तो भान हुन्थ्यो । म तीनै क्रुजको सोर्हौ तलाको सुन्दर बक्षस्थलमा बसेर वेल्स बियर ‘भेलेनभ्योइल’ र कलिलो चाइनिज हातले बनेका ‘शँघाइ नुडल्स’ शरिरभित्र पठाउन कोशिस गरिरहेको थिएँ । तर खै किन हो किन मलाई त्यसबेला त्यति बास्नादार नुडल्समा भन्दा पर टाढा क्षितिजमा देखा परिरहेको सेतो टापु ‘आइल अफ ह्वाइट’ को सुन्दर दृश्यले थोरै भोक मेटाउने प्रयत्न गरिरहेको थियो ।

लाटोले पापा हेरे झै अचानक म ट्वाल्ल परिरहेको थिएँ । एकछिनमा खानाको खोजिमा हराएका मेरा सहयात्रीहरु पनि मेरै अगाडी आइपुगे । त्यसरी हामी सबैजना भेला भएपछि एक-अर्कामा नबोलि लञ्च खान थालेका थियौ । त्यँहीबेला बाटो बिराएर घुम्ती पेय पदार्थको ट्रली पुनः हाम्रो सामु आइपुग्यो । मसक्क मस्किदै ट्रलीमा सेवा प्रदान गर्ने युबती हाम्रै अशल छिमेकी मित्रराष्ट्र भारतको उत्तरपूर्वी इलाकाकी थिइन । उत्तरपूर्व भारतीय युबतीहरुको अनुहार बिहार वा तामिलनाडुहरुको जस्तै नभएर ठेक्कै हाम्रै जस्तै हुने गरेका छन् । एकचोटी ताजमहल घुम्नजाँदा ताज होटल आग्रामा भेटिएकी उत्तरपुर्वी युबतीले मलाई मज्जाले झुक्काएकी थिइन । त्यो भन्दा बढि बर्णन गर्न मैले यहाँ उचित ठानिन ।

तीनै भारतीय बेयराले एउटा अर्को गिलास वियर र दुई गिलास सेतो वाइन टेबलमा राखिछाडेर उनको बाटो तताई हालिन । उनी गएपछि हाम्रो खाना खानेक्रम सुमधुर चलिरहेको थियो । एकजना पातली तर अति सुन्दरी इन्डोनेशियन बेयराले मगमग बास्नादार तीन वटा इन्डोनेशियन कफी र मेरो लागि एउटा ‘अर्ल ग्रे’ चिया ल्याएर टेबलमा उपस्थित जनाइन् । बाली, इन्डोनेशिय बाट आएकी युबतीले हामीसँग धन्यबाद मात्र लिन सकिन, त्यसपछि उनको सुकोमल मुहार एक्कै छिनमा बिलुप्त भइहाल्यो ।

केहीबेरमा जुमल्याह जस्तै देखिने एकजोडी फिलिपिनो युवतीहरू हाम्रो टेबल अगाडी देखा परेका थिएँ । उनीहरुले तागालोक भाषामा गीत गाउँदै गाउँदै किस्तिमा मिठामिठा केकहरू डुलाइ हिडेका थिएँ । खै के भएर हो कुन्नि तातोतातो केक भनेपछि ताराको मुखदेखि श्रावणे भेलझै पानीको बर्षा छुट्टि हाल्छ । तीनै मौकाको फाइदा उठाउँदै उनले केक बजाउन थालि हालिन । धेरै नुनिलो, अमिलो, पिरो र गुलियोदेखि टाढा रहने भएकोले म चाँही अलिकति छुट्टिएर टाढा बस्न खोजे । जे होस त्यसदिनको अचाक्ली राम्रो मौसम र साउथाम्पटनको सुन्दर दृश्यले हामीलाई त्यस टेबलमा निक्कै लामो समयसम्म अलमल्याइ रहेको थियो ।

साउथाम्पटनको समय दिउँसोको ठीक ४ बजेको थियो । पानीजहाजका कप्तान जोन म्याकन्लीले ‘ब्रिज’ बाट आकाश नै छेडला झै गरेर तीनचोटी ठूल्ठूलो हर्न बजाइ हाले । तीनै हर्नको कडा आवाज सँगसँगै क्रुजले सुस्तरी बन्दरगाह छाडन लागेको थियो । ठीक त्यँही समयमा ध्वनी प्रशारक यन्त्रबाट सर्बाधिक लोकपृय अङ्ग्रेजी गीत ‘गुडबाई इङ्लीस रोज’ बज्न थालिसकेको थियो ।

पानीजहाजले बन्दरगाह छाडदै गर्दा धेरैजसो यात्रीहरू बार्दलीमा उभिएर रमिता हेरीरहेका थिएँ । र, त्यति मिठो गीतलाई ध्वनी प्रशारण यन्त्र सँगसँगै गाउदै पनि गरेका देखिन्थे । अझै उनीहरुले त्यँहीदेखि मुनि जमिनमा कमिला जत्रा देखिने मानिसहरूसँग हात हल्लाएर बिदाई पनि गर्दै गरेका थिएँ । जम्मा ४ हजार ३२० जना यात्रुहरु र १ हजार ३९८ जना कर्मचारीको साथमा भिमकाया पानीजहाजले विस्तारै बन्दरगाह छोड्दा उदास भावमा ब्रिटानिय क्रुजको छोटो इतिहास मेरो मानसपटलमा नाँचीरहेको थियो ।

हरेक घण्टा, ३ हजार ग्यालन तेल खर्च हुने ब्रिटानिय क्रुजको निर्माण गर्न सन् २०११ मा ट्रिस्टे, इटालीको फिनकान्टेरी कम्पनीलाई आदेश दिइएको थियो । जसले लगभग ४ वर्षपछि २६ फेब्रुअरी २०१५ मा मात्रै क्रुजलाई पूर्णरुप दिनसकेको थियो । फिनकान्टेरी कम्पनीमा २० हजार श्रमिकहरूले काम गर्ने भएकोले युरोपको सबैभन्दा ठूलो पानीजहाज निर्माण कम्पनी त्यो नै हुन गएको छ । १ सय ४३ हजार टन कुल तौल क्षमता भएको १८ तले ब्रिटानिय क्रुजले विस्तारै साउथाम्पटन पानीलाई छाड्यो र अङ्ग्रेजी जलपथतर्फ अगाडि बढिरह्यो । दिनहुँ ३ हजार कुखुराको अण्डा एवम् १५ हजार कप कफी पाक्ने पानीको पाँचतारे होटल ‘फाइब स्टार’ ब्रिटानियले विस्तारै सेतोटापुलाई विदा गर्दैगर्दै अङ्ग्रेजी जलपथमा बहन थाल्यो ।

अङ्ग्रेजी जलपथ पुगेपछि ‘२२ नट्स’ अथवा ४० किलोमिटर प्रतिघण्टाको बेगमा पानीजहाजले गति लिन थालेको कुरो पानीजहाजका कप्तान म्याक्नलीले बताएका थिएँ । अङ्ग्रेजी जलपथ छाडेर उत्तरी सागरमा लगभग ३६ घण्टाको जलयात्रा पश्चात् स्टाभाङ्गर नर्वेमा पुग्ने पानीजहाजको पूर्व योजना थियो ।

१० मार्च २०१५ को दिन बेलायतको हजुर महारानी एलिजावेथ दोस्रोले त्यो क्रुजको नाम ‘ब्रिटानिय क्रुज’ भनेर उद्घाटन गरीबक्सेकी थिईन । बेलायती महारानीले उद्घाटन गरेको ब्रिटानीय पानीजहाज भएपनि स्टाभाङ्गर, नर्वे नपुगिन्जेल नयाँ नेपालको प्रथम पानीजहाज भन्दै धेरैलामो समयसम्म हामीले सम्झिरहेका थियौ । क्रमशः

अक्सफोर्ड, बेलायत ।

प्रतिक्रिया
सम्बन्धित