बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

विवेकशील पार्टीले थाल्यो सूचनाको हकसम्बन्धी अभियान

दैनिक नेपाल २०७७ चैत ३० गते १२:५०

काठमाडौं, ३० चैत । सार्वजनिक निकायहरूलाई जबाफदेही बनाउनका लागि विवेकशील पार्टीले सूचनाको हक प्रबर्द्धन गर्ने विशेष अभियानको सुरुवात गरेको छ ।

अभियानअन्तर्गत पार्टीले नागरिकहरूलाई पोष्टकार्ड वितरण, सूचनाको हकसम्बन्धी प्रशिक्षण र सूचनाको हकसम्बन्धी निवेदन तयार गर्ने वेब एप्लिकेसन बनाउनाका साथै पार्टीको सूचना अधिकारी पनि तोकेको छ ।

विशेष अभियान अन्तर्गत नयाँ वर्ष २०७८ को उपलक्ष्यमा सार्वजनिक स्थानहरुमा पोस्टकार्ड तथा मास्क वितरण गरेको छ । ‘नयाँ वर्ष २०७८ को हार्दिक शुभकामना, पारदर्शिताको लागि सूचनाको हक प्रयोग गरौं’ लेखिएका हस्तलिखित पोस्टकार्ड तथा मास्क वितरण गरेको हो ।

‘हस्तलिखित पोस्टकार्ड वितरण गर्दा पोस्टकार्ड प्रापकले आत्मीयताको महसुस गर्ने तथा दिन खोजेको सन्देश पनि सजिलै प्रापकले बुझ्ने भएकोले नजिकिंदै गरेको नयाँ वर्ष २०७८ को अवसर पारेर यो अभियान सञ्चालन गरिएको हो,’ पार्टीको अभियान कार्यदल सदस्य लक्ष्मण श्रेष्ठले भने ।

विगत दुई हप्तामा सूचनाको हक प्रवर्द्धन गर्ने हेतुले संघीय कार्यालय, नक्साल र मकवानपुरमा सूचनाको हकसम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ । विगतमा पनि अनलाइन मार्फत प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको पार्टीले जानकारी दिएको छ ।

विवेकशील पार्टीकी नेत्री साधना राईले भनिन्, ‘पारदर्शीता लोकतन्त्रको मेरुदण्ड भएको र लोकतन्त्र थप बलियो बनाउँदै, लोकतान्त्रिक मूल्यमान्यताहरूलाई संस्थागत गराउन सके मात्र सार्वजनिक निकायहरूलाई जबाफदेही बनाउन सकिने र नागरिकले शासन प्रणालीमा अपनत्व गर्न सक्ने भएकोले आफूहरूले सूचनाको हकको प्रचारप्रसार अभियानकै रूपमा अगाडि बढाएको र आगामी दिनमा पनि समुदाय र विशेष गरी युवाहरु माझ पुगेर यो अभियान अघि बढाउने छौं ।’

बिना झन्झट सूचनाको हकको निवेदन मोबाइलबाट पनि सजिलै तयार पार्न सकियोस् भन्नको लागि पार्टीले वेबसाइट सञ्चालनमा ल्याएको छ । उक्त साइटमा गएर केही मिनेटमा नै सूचनाको हकको निवेदन अत्यन्त सरल तरिकाले तयार पार्न सकिने पार्टीका सूचना प्रविधि कार्यदलका संयोजक सन्दीप रिमालले बताए ।

विवेकशील पार्टीले आफ्नो पार्टीमा पनि सूचना अधिकारीको व्यवस्था गरेको छ । हाललाई पार्टीको प्रवक्ता विजयबाबु शिवाकोटीलाई नै सूचना अधिकारीको जिम्मेवारी दिइएको छ । विवेकशील पार्टी सूचना अधिकारी राख्ने सम्भवतः नेपालकै पहिलो पार्टी भएको दाबी समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित