शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मनकामना केबलकार भोलिदेखि पुनः सञ्चालनमा आउँदै

दैनिक नेपाल २०७७ चैत २९ गते १३:४५

काठमाडौं, २९ चैत । मनकामना केबुलकार मर्मत सम्भार पश्चात् एक दिनअगावै अर्थात सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागि बन्द गरिने भनिएको थियो ।

मनकामनादर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिनअगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालन गर्ने भनिएको केबलकार चैत्र ३० गते सोमबार बाटै सञ्चालनमा आउने जनाएको हो ।

चैत्र २३ गते देखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए ।

२०५५ सालमंसिर ८ गते देखि सञ्चालनमा आएको मनकामना केबलकारले २३ वर्ष पूरा गरेसँगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ ।

पुरानै प्रविधिमा सञ्चालनमा ल्याउँदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो ।
सञ्चालक श्रेष्ठका अनुसार पहिलो चरणमा अतिआवश्यक र मर्मत नगरि नहुने सामान फेरिने र दोश्रो चरणमा नयाँ प्रविधिको लागि पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो ।

जस अनुसार केबलकारको लठा परिवर्तन, सञ्चारकेबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा लैजान लागिएको छ । यात्रुको सुरक्षासँगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ ।

अबको २ वर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित