मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

नेपाल पत्रकार महासङ्घ राससको अध्यक्षमा गुरागाइँ

दैनिक नेपाल २०७७ चैत २५ गते २०:४९

काठमाडौँ, २५ चैत । नेपाल पत्रकार महासङ्घ राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा पवित्रा गुरागाइँ निर्वाचित भएकी छन् ।

महासङ्घको आज सम्पन्न २६औँ महाधिवेशन तथा निर्वाचनमा गुरागाइँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

उपाध्यक्षमा अच्युत रेग्मी, महिला उपाध्यक्षमा मोहिनी रिसाल, सचिवमा छविलाल कुमाल, सहसचिवमा रोशा बस्नेत, सहसचिव (समावेशी)मा शर्मिला पाठक र कोषाध्यक्षमा दिलीप अधिकारी निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा कृष्णप्रसाद सापकोटा, गीता पराजुली र रेशमा शाक्य निर्वाचित भएका छन् । महासङ्घको केन्द्रीय परिषद् सदस्यमा दिलीपप्रसाद शर्मा चयन भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई आज प्रमाणपत्र वितरण समारोहमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले देशभर पत्रकार महासङ्घको निर्वाचन भइरहेको अवस्थामा राससभित्र सर्वसम्मत महिला नेतृत्व चयन गरेर उदाहरणीय काम प्रस्तुत गरेको बताए ।

उनले नयाँ कार्यसमितिले राससभित्रका श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने र राससलाई अग्रणी समाचार संस्थाका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रमुख निर्वाचन अधिकृत राजु शाक्यले आगामी दिनमा सफल ढङ्गले कार्यसम्पादन गर्न नयाँ कार्यसमितिलाई आग्रह गरे । महासङ्घका केन्द्रीय प्रतिनिधि एकराज पाठकले नेपाल पत्रकार महासङ्घको नयाँ व्यवस्थानुसार नयाँ कार्यसमिति आएको भन्दै कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । –रासस

प्रतिक्रिया
सम्बन्धित