
काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकामा फेरि वायु प्रदुषण बढेको छ ।
वायु प्रदुषणसँगै उपत्यकामा चिसो समेत पुनः बढेको छ । मौसम पूर्वानुमान महाशाखाले तुवाँलोका कारण काठमाडौं उपत्यकामा चिसो बढेको बताएको छ ।
आगामी दुई–तीन दिनसम्म यस्तै अवस्था रहने भएकाले सावधानी अपनाउन सबैलाई महाशाखाले अनुरोध समेत गरेको छ ।
प्रायः चैत महिनामा हुनुपर्ने गड्याङगुडुङ, हावाहारी र वर्षा नहुँदा उपत्यकासहित देशका अन्य स्थानमा पनि तुवाँलो लाग्ने अवस्था आएको र यसबाट वायु प्रदूषण पनि बढेको महाशाखाको भनाइ छ ।
केही दिनयता देशभर वायु प्रदूषण बढेकाले सजगता अपनाउन यसअघि नै स्वास्थ्य मन्त्रालय, वातावरण विभागलगायत विज्ञले सुझाव दिइसकेका छन् ।
वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ। धनगढी एयर क्वालिटी इन्डेक्स ‘एक्युआई’ ४२९ पुगेको छ । दोस्रो नम्बरमा चितवनको भरतपुर छ । त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ ।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स ‘एक्वुआई’मा मापन गरिन्छ । एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो ।
स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ छ र काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ । विज्ञहरूले सुख्खा हिउँद, अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र धुँवा-धुलो प्रदुषण बढेको बताएका छन् ।















प्रतिक्रिया