
काठमाडौँ, २० चैत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालस्थित शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भेटघाट गरेका छन् ।
सिंहदरबारस्थित कार्यकक्षमा शुक्रबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यूएनएचसीआरले विश्वभरका शरणार्थी र राज्यविहिन व्यक्तिको हकका लागि गरिरहेको काम प्रति आभार व्यक्त गरे ।
यस संस्थाले स्थापना कालदेखि विश्वभर छरिएर रहेका करिब ५ करोड शरणार्थीलाई सहयोग गरेको जानकारी पाउँदा खुसी लागेको उनले बताए ।
‘नेपालमा रहेका १ लाख १३ हजार ५०० भुटानी शरणार्थीको अन्य आठ देशका पुनर्वास गरिएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ’यसका लागि यूएनएचसीआरको भूमिका प्रति धन्यवाद दिन चाहन्छु । अब नेपालमा करिब १९ हजार शरणार्थी रहेका छन्, यहाँहरुको व्यस्थापनमा पनि यहाँहरुको पक्कै ध्यान पुगेको होला ।’
अध्यक्ष तिमिल्सिनाले कोरोना–१९ र अन्य स्वास्थ्य समस्यामा परेका शरणार्थीको सेवामा समेत उच्च आयुक्तको कार्यालयले गरेको कामको प्रशंसा गरे ।
भेटमा उच्चायुक्त कार्यालयका नेपाल प्रतिनिधि स्पानुथ वर्माले शरणार्थी व्यवस्थापनमा नेपाल सरकारले खेलेको सकारात्मक भूमिकाप्रति आभार व्यक्त गरिन् ।
नेपाल सरकारले शरणार्थीलाई पनि नेपाली सरह शिक्षा, स्वास्थ्यलगायतका सेवा दिएकोमा संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरिन् ।












प्रतिक्रिया