
काठमाडौँ, २० चैत । कर्णाली प्रेशमा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अलपमतमा परेका छन् ।
अब के गर्ने भन्ने विषयमा शनिबार संसदीय दलको बैठक बोलाएको सो पार्टीले जनाएको छ ।
शाहीले एमालेका नेपाल पक्षकालाई फकाउन प्रयास गरेपनि सो पक्षले पार्टीको निर्णयमै अडिग रहने जनाएको छ ।
त्यस्तै, १३ जना सांसद रहेको माओवादीका धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि शाही अल्पमतमा परेका छन् । एमालेले चैत ५ गतेदेखि लागू हुनेगरी प्रदेश सरकारको समर्थन फिर्ता लिएको छ ।
जसअनुसार १५ दिन भइसकेको छ । संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुनेछ । आफ्नो सरकार ढल्ने भएपछि मुख्यमन्त्री शाहीले पद जोगाउन अन्तिम प्रयास गरिरहेका छन् ।
शाहीले भने एमालेका नेपाल पक्षका सांसदहरुको हिसाब गर्दै आफ्नो सरकार बहुमतकै भएको दावी गर्दै आएका छन् ।
कर्णाली प्रदेशसभामा ४० सिटमध्ये एमालेको २० सीट छ । माओवादीका १३, काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । माओवादीका सांसद रेग्मी एमालेमा गएसँगै प्रदेशमा एमालेले एक्लै सरकार बनाउने अवस्था सिर्जना भएको छ । एमालेले पनि चैत २२ गते संसदीय दलको बैठक बोलाएको छ ।












प्रतिक्रिया