![]()
काठमाडौं, २० चैत । कृषि प्राविधिकहरूलाई सहयोग गर्न नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्स प्रालिबीच सम्झौता भएको छ ।
कृषि प्राविधिकहरूलाई आवश्कता अनुसार बैंकको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैंकिङ सेवाहरू प्रदान गर्दै उनीहरूलाई सहयोग गर्ने उद्देश्यअनुसार बैंकले आर एण्ड डी इनोभेटिभ सोलुसन्ससँग सम्झौता गरेको हो ।
उक्त सम्झौतामा नबिल बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर एण्ड डी इनोभेटिभ सोलुसन्स प्रालिकी अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरेका छन् ।
यो कार्यक्रमले कृषि उद्यमशीलताको दीगो विकाससँगै तिनै प्राविधिकमार्फत अन्य कृषकहरूलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिइएको छ । यस कार्यक्रमअन्तर्गत जेटीए, जेटी, आईएस्सीएजी र बिएस्सीएजी अध्ययन गरेकाले यो सुविधा प्रयाृग गर्न पाउने छन् । यो कार्यक्रमअन्तर्गत आगामी एक वर्ष भित्रमा कम्तीमा १०० जना कृषि प्राविधिकहरूलाई उनीहरूकै ठाउँमा उद्यम विकास गर्ने योजना बैंक र आर एण्ड डी को छ ।
यो साझेदारीसँगै नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशीलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नवीन शुरूवात गरेको बैंकको भनाइ छ । यस्तै बैंकले शुरू गरेको यो पहलले व्यापक रूपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तीय लगानी प्रवृति नै परिवर्तन गर्ने नबिल बैंकको विश्वास छ ।
त्यसैगरी कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम सञ्चालन गर्न नसक्नु नेपालको कृषि क्षेत्रमा देखिएको मुख्य समस्या भएको भन्दै कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशीलतातर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्सले सहकार्य गरेको आर एण्ड डी इनोभेटिभ सोलुसन्स प्रालिकी अध्यक्ष सुनिता न्हेम्हाफुकीले बताइन् ।
यसका लागि आर एण्ड डी इनोभेटिभ सोलुसन्सले उद्यम गर्न चाहने प्राविधिकहरू छनोट गरि उद्यमशीलता विकाससम्बन्धी आधारभूत तालिम दिई बैंकसमक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्ने छ । ती सिफारिस भएका प्राविधिकहरूको व्यावसायिक योजनाका आधारमा १० लाख रूपैयाँसम्मको सहुलियत दरको कर्जा नबिल बैँकले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।















प्रतिक्रिया