
काठमाडौं, २० चैत । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ ।
बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको बताइएको छ । आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने छ ।
अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ ।
यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिएको हो । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण शुरु गरिएको थियो ।
एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे ८ करोड लिटरसम्म पानी आउने छ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे ८ करोड लिटर पनि ल्याउन सकिने छ भने दुवै प्रशोधन केन्द्रमा दैनिक साढे साढे ८ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिने छ ।















प्रतिक्रिया