शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

ब्लग : माधव नेपाल र भीम रावल नरहँदा पनि कम्युनिष्ट आन्दोलन जीवित रहन्छ

केशव आचार्य २०७७ चैत १७ गते २३:०५

केशव आचार्य

सर्वोच्च अदालतले एकीकृत नेकपा भङ्ग गरी साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि तत्कालीन नेकपाभित्रको विवाद पुनर्जीवित नेकपा एमालेमा केन्द्रित भएको छ ।

हिजो वा आज पार्टीका वरिष्ठ भनिने नेताहरू आफ्ना निर्वाचित अध्यक्षलाई विनाकारण पदच्युत गराउन तथा सत्ताबाट हटाउने खेलमा लागिरहँदा बल्लतल्ल एक भएको कम्युनिष्ट पार्टी अनयाशै भङ्ग भयो । नेकपा भङ्ग भएर एमाले र माओवादी ब्युँतिदा पुरानो नेकपाको रोग एमालेभित्र पसेको हो ।

अनावश्यक रूपमा विवाद खडा गरी पार्टीलाई एक हुन नदिने तथा अस्थिरता सृजना गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलगायतका नेताहरू हुन् । त्यसभन्दा पनि तल आउने हो भने योगेश भट्टराई, रामकुमारी झाँक्री र अन्य केही युवा नेताहरू पनि विवाद सृजनाका मुख्य पात्र नै हुन् ।

पाँच वर्षसम्म पार्टी र सत्ता सञ्चालनको ‘फूल म्याण्डेट’ पाएका वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जुन–जुन हर्कत जसरी–जसरी गरियो तिनै हर्कतहरूका परिणाम हो अहिलेको अस्थिरता । त्यतिमात्र होइन एमालेले हिजो (सोमबार) मात्रै वरिष्ठ भनिएका नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ, यो नतिजाको कारण पनि स्वयम् माधव नेपाल र भीम रावलहरू नै हुन् ।

त्यसो त माधव नेपाल र भीम रावलहरू त्यत्तिकै उग्र क्रान्तिकारी बनेका होइनन् । उनीहरूलाई उग्र क्रान्तिकारिताको रस भरिदिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । उनै प्रचण्डको कार्यकर्ता बन्न खोज्दा आज नेपाल र रावल पार्टीबाटै निलम्बनमा परेका छन् भने अन्य केही नेतामाथि कारबाहीको प्रक्रिया चलिरहेको छ । पार्टीभित्र एकताको खोक्रो विगुल फुकिरहने तर त्यसभित्र विभाजनको बीउ रोपिरहने उनीहरूको ‘डबल स्ट्यान्डर्ड’का कारण पार्टी अध्यक्ष ओलीले उनीहरूलाई कारबाही गर्न बाध्य भएका हुन् ।

पार्टीको विधान र हितविपरीत कार्य गर्ने जो कोही पार्टीमा कारबाहीको भागीदार स्वतः हुन्छन् । त्यसैअनुसार ओलीले उनीहरूमाथि कारबाहीको डण्डा चलाएका हुन्, जुन स्वाभाविक पनि हो । पार्टीभित्र अराजक र गुटबन्दी गर्नेहरूमाथि यसरी नै कारवाहीको दायरामा ल्याउने हो भने मात्रै भावी दिनमा सुधारिएको एमाले देख्न सकिएला अन्यथा यिनीहरूको सधैंको झगडा र झमेलामा अलमलिनाले पार्टी जीवन नै ध्वस्त हुने खतरा दिनदिनै बढिरहेको छ ।

एमाले जोगाउन, एमालेभित्रै उउनीहरूको समेत भविश्य सुनिश्चित गर्न केही समय निलम्बन आवश्यक ठानी पार्टीले निर्णय लिएको छ, यसबीचमा सुध्रिने प्रयत्न गर्नुहोला माधव नेपाल र भीम रावलले ।

माधवकुमार नेपाल र भीम रावलमाथिको कारबाही पार्टी एकताविरोधी भएको चर्चा पनि गर्ने गरिएको छ, के सधैं विभाजन चाहानेहरू कहिल्यै एकताका पक्षपाती हुन सक्छन् ? विभाजन चाहँदैन थिए भने प्रचण्डले जे–जे अह्रायो त्यही–त्यही आजसम्म पनि किन मानिरहेका छन् माधव र भीम रावलहरू ? कम्युनिष्ट एकता गर्न केपी ओली र प्रचण्डले गरेको तत्कालीन निर्णय गलत छँदै थिएन । तर, माधव नेपाल, झलनाथ खनाल, भीम रावल र घनश्याम भुषालहरूको कमजोर पक्षलाई पक्रेर प्रचण्डले जब सग्लो एमालेलाई धुजा–धुजा पार्न थाले र उनको कुत्सित मनसायको मतियार माधव र झलनाथहरू बने भने उनीहरूलाई नै ओलीले एमालेमा च्यापेर राख्नुपर्छ भन्ने छँदै छैन ।

पार्टी एक हुनुपर्छ भन्ने कुरामा कसैको पनि विमति छैन । तर, माधवकुमार नेपाल र भीम रावल जस्ता ‘कोरोना’झैं भाइरसलाई सदाका लागि मिल्काएकै ठिक हुन्छ । किनभने अब माधव कुमार नेपालको एउटै ‘मिशन’ केपी ओलीलाई सिध्याउनेमा केन्द्रित भइसकेको भने उनले अब पार्टी बनाउँछन् र एमालेलाई स्थिर राख्न दिन्छन् भन्ने कुरा कसले पत्याउने ?

हो, नेपालको कम्युनिष्ट आन्दोलनमा माधव नेपाल र भीम रावलहरूले विगतमा महत्वपूर्ण योगदान पुर्याएका छन् । पार्टी निर्माणमा पनि अहम् भूमिका खेलेका छन्, तर उनीहरूको अहिलेको कुकृत्यले ती सबै कुराको नाश गरिसकेको छ । त्यसकारण उनीहरूले एमालेका सच्चा कार्यकर्ताको नेता बन्ने नैतिकता गुमाइसकेका छन् ।

उनीहरू त अहिले केवल नेपाली कम्युनिष्ट आन्दोलनका ‘भाइरस’का रूपमा प्रकट भएका छन् । जो प्रचण्डलाई नसोधी कुनै कदम नै चाल्न सक्दैनन्/जान्दैनन् । महाधिवेशनबाट चुनिएका अध्यक्ष तथा संसदीय दलमा सर्वसम्मत चयन भएका केपी ओलीलाई घेराबन्दीमा पारेर लखेट्न खोज्नेहरूबाट पार्टीमा अब सकारात्मक योगदानको कल्पना समेत गर्न सकिदैन । केपी ओलीलाई सिध्याउन प्रचण्डलाई उच्च कोटीको राजनीतिक प्राणी ठान्नु माधव–झलनाथहरूको महान गल्ती हो, बेवकुफीपन हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कलह उत्पन्न गराई शक्ति आर्जन गर्ने, केपी ओलीलाई सत्ताच्युत गर्ने स्वार्थपूर्ण उद्देश्य, गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछिका अभिव्यक्ति, क्रियाकलाप, भेटघाट र उनीहरूको मानसिकताले पनि उनीहरू पुनः एमाले बन्न लायक छैनन् भन्ने पुष्टि गरिसकेको छ । यद्यपि, एमाले जोगाउन, एमालेभित्रै उउनीहरूको समेत भविश्य सुनिश्चित गर्न केही समय निलम्बन आवश्यक ठानी पार्टीले निर्णय लिएको छ, यसबीचमा सुध्रिने प्रयत्न गर्नुहोला माधव नेपाल र भीम रावलले ।

प्रतिगमन भयो भन्दै हिजो पार्टी विधानको हवला दिँदै अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णुप्रसाद पौडेल, मुख्यमन्त्रीद्वय शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ, सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, प्रभु शाह, कर्णबहादुर थापा, गोकुल बाँस्कोटा, सूर्य थापा र महेश बस्नेतहरूलाई सम्बन्धित पदबाट हटाउने र निलम्बन गर्ने तपाईंहरू हुनुहुन्थ्यो भने त्यही विधानले अहिले तपाईंहरूलाई निलम्बन गरेको हो, अन्यथा होइन ।

तपाईंहरू प्रचण्डको मतियार नभएको भए अहिले प्रायः प्रचण्डसँग अघोषित कार्यगत एकता गर्दै हरेक दिनजस्तो भेटघाट र साँठगाँठ किन गरिरहेको ? त्यसको उद्देश्य के हो ? कार्यकर्ताले जान्न पर्दैन ? पद, प्रतिष्ठा, शक्ति नचाहिने चर्को कुरा गर्नेले पद जाने भएपछि किन लुरु–लुरु आएर सुटुक्क पस्न खोजेको ?

प्रस्तुत सामग्रीमा व्यक्त विचार लेखकका निजी हुन् ।

प्रतिक्रिया
सम्बन्धित