
काठमाडौँ, १६ चैत । जल तथा मौसम विज्ञान विभागले अझै केही दिन तुवाँलो हट्ने सम्भावना नरहेको जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै विभागले सो कुराको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छः ‘मौसम विश्लेषणका आधारमा आगामी ३ दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकोले तुवाँलोको यस विषम मौसमको अवस्थामा तत्काल सुधार हुने देखिएको छैन, त्यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिएपनि तुवाँलोको अवस्था के हुने हो, सो डढेलोको अवस्थामा निर्भर रहन्छ ।’
त्यस्तै, विभागले आवश्यक नपरी घर बाहिर ननिस्कन र निस्कँदा पनि सतर्कता अपनाउन अपील गरेको छ ।
देशका अधिकांश जिल्लाहरुमा डढेलो लागेर धूँवाका कारण वायुमण्डलमा प्रभाव परेको विभागले बताएको छ ।
काठमाडौँ उपत्यकामा सामान्यभन्दा धेरै हावा दूषित भएको र जनजीवन प्रभावित बनेको विभागले जनाएको छ ।













प्रतिक्रिया