आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सरकारले गर्‍यो फेरि लकडाउन हुनसक्ने सङ्केत

दैनिक नेपाल २०७७ चैत १२ गते १२:०४

फाइल तस्वीर

काठमाडौं, १२ चैत । कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेसँगै सरकारले लकडाउन हुनसक्ने सङ्केत गरेको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको भनाइ छ ।

बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले लकडाउन गर्नु सरकारको रहर नभइ बाध्यता हुने भन्दै आवश्यक परे जस्तोसुकै निर्णय लिन सकिने बताएका छन् ।

‘हामीले मानिसहरुलाई अनावश्यक भीडभाड नगर्न, मास्कको नियमित प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, भेटघाट तथा गोष्ठी आयोजना नगर्न अपिल गरेका छौं,’ अधिकारीले भने, ‘हामीले गरेको अपिल सर्वसाधारणले मान्नुभएन र संक्रमणको दर बढ्दै गयो भने सरकारसँग अरु विकल्प हुँदैन । लकडाउन गर्न पर्ने पनि हुनसक्छ ।’

उनले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’

सरकारले आगमी होली पनि घरमै बसेर मनाउन र अनावश्यक भीडभाड नगर्न आग्रह गरिसकेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको संख्या बढेकाले नेपालमा पनि संक्रमण पुनः फैलिने आशङ्का गरिएको छ ।

केही दिनयता दैनिक संक्रमितको संख्या पनि क्रमशः बढ्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित