बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अप व्यय

वीवी श्रेष्ठ २०७७ चैत १२ गते ११:१८

वीवी श्रेष्ठ

धर्तीको यो वातावरणमा अवतरणका पर्खाइमा रहेका खुशीसँगै चुनौतीको पहाडमा देखिएको सपनाहरूको महलसँगै कौतुहलताले डेरा जमाइरहयो । पृथकता खोज्ने नाममा गरिएको एकलव्य प्रयासमा देखिएको त्यो हरकतहरू असम्भवप्रायः थिए । त्यो सवैको वावजुद पनि प्रतिकुलताभित्र अनुकुलताको मिर्मिरेमा आकाशका किरणहरू देखिए । सिङ्गो विश्व र समुदाय नै वाधक वन्ने निश्चितताभित्र देखिएको त्यो कर्मले मनमा अनेकौ प्रश्नहरू सोधीरह्यो । भुलवस अथवा अञ्जानमा गरिने गल्ती क्षमायोग्य होला । पृथकता र विश्वासमा अडिएको सम्वन्धभित्रको परिणामले भोलि कस्तो अवस्था सिर्जना गर्ला, गर्भभित्र नै राखिदिए ।

तरंगित भावहरूलाई रोक्न, सम्हाल्न खोज्ने प्रयासवीचमा आएको खुशीले आँखावाट आँशु थाम्न सकेन, अविरल वग्ने आँशुका कणहरूसँग सोध्न थाले, सायद यो सहजतामा फूलेको फूल भए कति खुशी हुन्थ्यो होला, अनेकौ आत्मामा ! खुशी वाड्ने आत्माहरूले सायद सबै खुशी काखमा हुन्थे होला । धर्तीमा टेक्ने त्यो पहिलो रस्वादानको त्यो स्वच्छ आत्माले महसुस गर्‍यो कि गरेन होला, यहाँ पर्याप्त खुशी र सुख छैन भनेर ।

विश्वासको सम्वन्धभित्रको त्यो अकाट्य पलले दिएको पीडा यथार्थ समिप भएता पनि अन्तरआत्मा रुवाउने हिम्मत पलाउन सकेन । यथार्थवोधभित्र वसेर गरिएको योजनाले हलचल हुन दिएन । सहज हुँदैन, आफैभित्र अनेकन अविरल प्रश्नका वर्षाले दिएको पीडा विश्वासको अगाडि लाचार बनिदियो । सहजताभन्दा कठिन जीवनभित्र नै जीवनको परिभाषामा घोत्लिने रम्ने आत्माविश्वासका साथ मन बाध्ने काम भयो । आत्मा आफैमा जति कोमल हुन्छ, त्यति नै कठोर पनि हुँदो रहेछ । जीवनको अर्थ खोज्न सहज बाटो सम्भव हुँदैन, यहि आत्मारतिमा रमेको आत्माले त्यो कठोर मर्मस्पर्शी विचारधारामा रम्ने अटोट गरिदियो । चित्कारभित्र खुशी देख्ने अभिलाषामा त्यो पलुवाले धेरै मलजल गरिदियो । चुनौतीको त्यो पहाडलाई निराकरण गर्ने सामथ्र्य मनभित्रभित्रै वलियो बनिदियो । संकोच, अफ्ठयारो वीचमा विश्वासको सम्वन्धले एउटा आकार ग्रहण गरिदियो ।

सम्पन्नता र खुशी मानव जीवनमा सदैव साथ नहरने अपव्ययहरू हुन् । जसको प्राप्तिमा सन्तुष्टि हुँदैन । सजिवतामा साथ नरहने यो विशेषताभित्र केहि अन्य थप विशेषतालाई लेखाजोखा आम प्रवृत्ति हो । सोँच, अग्रसोँच आफैभित्रका साध्य हुन् । मात्र यसको मात्रामा तलमाथी होलान्, तर यसको अंश भने जीवित नै रहने गर्दछ । असंख्यताभित्रको एकमा रहने र त्यसमा विविधता पक्षको आकालन वातावरणमा सहज हुन्छ, सोँचको दरिद्रताले चेतनामा वन्धक वनाउन मुख्य भूमिका खेलेता पनि आत्माभित्रको पुकार भने सत्यको नजिक रहेको हुन्छ, जुन हरेक आत्माले महसुस गरेको हुन्छ । देखाउने व्यवहार र आत्माको पुकार भनेको फरक फरक विषय हुन् । जसले जीवन नै तरंगित गरेको हुन्छ, यसको मात्रामा देखेने परिणाम भने सोचको परिधिले निर्धारण गर्दछ । कौतुहलता, विश्मयका वीचमा देखिएको वेमेलहरूलाई चिर्ने भरमग्दुर प्रयासहरू अनवरत रुपमा भएता पनि त्यहि अन्तरआत्माका विश्वासमा कति सन्तुष्टि भयो होला ? खुशीका कुनै मापन हुँदैन, सबैलाई समान खुशी सम्भव हुँदैन, तर सारमा खुशीको त्यो अंशले विश्वासको सम्वन्धलाई जोगाउन सक्यो कि सकेन होला ? उहि मात्रामा उहि खुशी र सन्तुष्टि प्राप्त सायद सवैलाई प्राप्त होला, तर घुम्टोभित्रको जीवन जिउँदै गर्दा आत्माको त्यो पुकारलाई कति न्याय भयो होला ?

सम्वन्ध सवैमा समान हुँदैन, त्यहि असमानताभित्रको परिधिमा जीउने आधारलाई मापन सवैले गर्न सक्दैनन । विश्वासका सम्वन्ध जोगाउने नाममा गरिएको कर्मले समाजमा खेल्ने भूमिकालाई भने पक्कै असर गर्ने रहेछ । सोँचको परिधिलाई बढाउने प्रयत्न आम होइन, खास हो, तर परिवर्तित सन्र्दभमा देखिने गतिविधि अगाडि बाटोलाई रोक्ने प्रयत्न गरेता पनि त्यसमा नै हार स्वीकार्नु भनेको अन्तरआत्मावाट विचलित हुनु मात्र हो । जसले लामो समयसम्म अन्तरआत्मालाई विश्वास गर्नेहरूका लागि धोका हुन सक्दछ ।

गतिको त्यो चालसँगै पलुवाले भौतिक रुपमा विकास गरेको छ । संसारको यो वातावरणमा वाच्ने कलालाई अंगिकार गरेको छ । कलिला जराहरू चलमलाउन थालेको छ । वस्तु र वातावरणको अनुभूति हुन थालेको छ । अभाव र मायाको संसारमा जीउनका लागि अभिसप्त बनेको छ । खुशीको त्यो पलुवाले फूलको आकार ग्रहण गर्न थालेको छ । हरेक वस्तुझै उसमा पनि परिवर्तनका आभास हुन थालेको छ । चाहेर पनि रोक्न सकेको छैन । लाग्दछ, अभ्यस्त जीवनभित्र घुलन हुनका लागी प्रयासरत रहेको छ । त्यो कोमल ह्दय विस्तारै फल्न र फूल्न थालेको छ । अंकुराउन लागेको विरुवा समयको वेगसँग जुधनका लागि अभ्यस्त बन्दै छ ।

सम्वन्धको विविध आयामले जीवनवोधको अनुभूतिभित्र रम्ने कोशिश गर्देछ । कमजोरी शक्ति आर्जनका माध्याम बनेको छ । वातावरण र गतिका अगाडि निरिह हुने सजीवताभित्र नचाहेर पनि आत्मासात गर्नु परेको छ । एकलव्य हुने चाहनामा आत्मा अस्थिर बनेको छ । जीवनभित्रको जीवन खोज्ने कर्ममा तल्लिन हुने सोचमा पृथकता हावी भएको छ । सवैलाई संसारका सवै खुशी र वस्तु नपाउने सन्दर्भमा त्यो कोमलह्दयका नयनवाट खुशी खोज्दै होला् । अतृप्त चाहना पुरा गर्ने अभिलाषामा वामे सर्दै होला । नयनको त्यो तादात्म्यता आत्मासँग मिलाउन नसक्दा आत्मा रोएको होला । साँच्चै जीवनको यो आत्मावोध कहिलेसम्म होला ? सोचको वन्धक यो आत्मा कहिले सम्म वन्ला ? संसारमा जीवित प्राणीभित्र सोँच र आत्माको तादात्म्यता कसले मिलाउन सक्यो होला ? अपःव्ययको यति धेरै प्रश्नभित्र त्यो निर्मल पालुवाले परिभाषा खोज्ने हिम्मत गर्ला ?

प्रतिक्रिया
सम्बन्धित