काठमाडौं, १२ चैत । पोहोर फागुन सुरुदेखि नै कोरोना संक्रमणको त्रास बढ्दा बिस्तारै आर्थिक गतिविधिमा मन्दी छाएको थियो । अटोमोबिल व्यवसायीहरूले विभिन्न कम्पनीका गाडी झिकाए, ग्राहकको माग नै घट्यो । कोरोनाले निम्त्याएको संकटलाई ध्यानमा राख्दै सरकारले धेरै विदेशी मुद्रा बाहिरिने सवारीको आयातमा पनि कडाइ गर्यो ।
अर्डर नै नभएपछि त्यसबेला उनीहरूले भन्सारमा आइपुगेका गाडी छुटाएका थिएनन् । त्यसबेला वीरगन्ज भन्सारको यार्ड गाडीले भरिएको थियो । लकडाउन हट्यो । त्रासकै बीच जनजीवन सामान्यतर्फ फर्किंदा मास्क लगाउनु र साबुनपानीले हात धुनु स्वास्थ्य सुरक्षाका लागि जति जरुरी भयो, त्यो जतिकै ध्यान दिनैपर्ने बन्यो– सामाजिक दूरी कायम गर्नु, भीड नगर्नु ।
यसको सोझो असर सवारीको बजारमा पर्यो । धेरैलाई निजी सवारी लिनैपर्ने बाध्यता आइलाग्यो । साधन खरिद गर्न चाहनेका लागि सम्बद्ध कार्यालय र बैंक तथा वित्तीय संस्था पनि कर्जा दिन सहज भए । चालु आर्थिक वर्ष लागेलगत्तै आर्थिक गतिविधि सामान्य बन्दै गएपछि सबैखाले सवारी साधनको आयात बढेको छ । नयाँ गाडी भन्सारमै थन्क्याउनुपरेको छैन ।
भन्सार विभागको पछिल्लो आठ महिनाको तथ्यांकअनुसार दुई र चारपांग्रे सवारीको आयात बढेको हो । गत साउनदेखि फागुनसम्म २१ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार ३ सय थान दुईपांग्रे सवारी आयात भएको छ । सोही अवधिमा २२ अर्ब २८ करोड ९४ लाख रुपैयाँ बराबरको १९ हजार १ सय ४ थान चारपांग्रे सवारी आयात भएको विभागको तथ्यांक छ ।
दुईपांग्रेतर्फ सबैभन्दा बढी कात्तिकमा ३ अर्ब ९६ करोड ९५ लाख रुपैयाँका ४३ हजार ९ सय २१ थान सवारी आयात भएको छ । असोजमा ३ अर्ब ९४ करोड ३० लाख रुपैयाँका ४२ हजार ४ सय ४३ थान सवारी भित्र्याइएको छ । फागुनमा ३ अर्ब ५४ करोड ७५ लाख रुपैयाँका ३७ हजार ५ सय ८९ थान दुईपांग्रे सवारी आयात भएको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया