६ मंसिर २०८३, आइतबार

पाल्पाको तानसेन बजार नजिकै जंगलमा आगलागी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन, १२ चैत । पाल्पाको तानसेन बजारनजिकैको वनदेवी, होलाङ्दी, श्रीनगरडाँडा वनक्षेत्रमा बुधबार बेलुकीदेखि भीषण डढेलो लागेको छ ।

डढेलोले होलाङदीको वन कार्यालय क्षेत्र, तालिम हल, नर्सरी, अप्पुभिलेज, श्रीनगर गणेश, भुसालडाँडा क्षेत्रमा रातभर डढेलो लागेको पाल्पा प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेलका अनुसार बुधबार बेलुकी नै वन कर्मचारी, सेना, प्रहरी र नगरपालिकाको दमकल डढेलो लागेको क्षेत्रमा पठाइएका थिए । श्रीनगर डाँडामा चण्डी सामुदायिक वन हुँदै आगो सल्किएको थियो । बिहीबार बिहान गणेश सामुदायिक वन क्षेत्रमा डढेलो सल्किएको छ ।

पोखरेलका अनुसार प्रहरी रातभर वनछेउका घर जोगाउन सक्रिय भएको छ । नगरपालिकाको दमकल तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । होलाङदीको वनदेवी क्षेत्र, अप्पुभिलेजमा पनि रातभर डढेलो लागेको छ ।

देउराली सामुदायिक वनमा डढेलो कसले लगायो भन्ने थाहा हुन नसकेको डिभिजन वनले जनाएको छ । श्रीनगरडाँडा र वनदेवी क्षेत्रमा सल्लाको जंगल छ । आगो निभाउन भन्दा पनि घरछेउ आए जोगाउने प्रयासबाहेक अन्य उपाय नभएको प्रहरीले जनाएको छ ।

जिल्लाका चुरे तथा अन्य वनक्षेत्रमा दिनहुँ आगलागी हुने गरेको छ । खडेरी मौसम र रूखका पात झरेकाले जानेर वा नजानेर आगलागी हुने गरेको छ । वनमा आगलागी हुँदा जडीबुटी, वृक्षरोपण गरिएको बिरुवा जोगाउन मुस्किल भएको छ ।