बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

माधव नेपाल र स्पष्टीकरणः ‘म त कामिन, भकारी काम्यो !’

दैनिक नेपाल २०७७ चैत १० गते २२:२४

-निर्मल भट्टराई

कुरो २०५६ सालको हो । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा संसदीय निर्वाचनको प्रचार–प्रसार तीव्र रुपमा चलिरहेको थियो । निर्वाचनको मिति आउन केही दिनमात्र बाँकी थियो । म चुनाव प्रचारको संयोजक थिएं । एकदिन हातैभरि ट्याटु खोपेको एक पहलमा मेरो घरमा आए ।

सामान्य चिनजानपछि मैले केही सोध्नुभन्दा पहिले उनले कण्ठ गरेको भाषा सुनाएझैं यसरी सुनाए, ’यसपालि एमालेलाई सहयोग गरौं भनेको, सयजना जति केटा छन् मसित’

‘ठीक छ, राम्रो निर्णय गर्नु भएछ । चुनाबको दिन आउन लागिसक्यो । खटौं न त भोलिदेखि नै’,मैले भनें ।

‘खट्नु त हुन्थ्यो कि दाई तर…’, उनी रोकिए ।

‘के तर ? प्रष्ट भन्नुस् न’, मैले भनें ।

‘केटाहरु त्यसै खट्दैनन् नि दाई, दश बीस हजार रुपैंया त चाहियो नि दाई’, उनले एक सासमा भने ।
त्यत्रो ‘दश बीस हजार’को निर्णय मैले एक्लै गर्न सक्दिनथें । मैले उनलाई पार्टीमा सल्लाह गरेर निधो दिन्छु भने ।

पार्टी र उम्मेद्वारसंग सल्लाह भयो । सयजना युवा नै उपस्थित गराउने र उम्मेद्वारसंग परिचय सहित निर्वाचनमा खटाउने, दश हजार व्यवस्था गर्ने निर्णय भयो ।

भोलिपल्ट ती युवाको भेला गरियो । कोही लामो–लामो कपाल पालेका, कोही जीउभर ट्याटु खोपेका, कोही कालो चस्मा ढल्काएका, कसैको नजिक परिए अनौठो गन्ध आउने युवाले हल टनाटन भरियो ।

अरु वक्ता थिएनन् । सोझै उम्मेद्वारले मन्तव्य राख्ने कार्यसूचि बन्यो । जब उद्घोषकले उम्मेद्वार कमरेड आउदै हुनुहुन्छ भने, त्यहाँ उपस्थित युवाले एक मिनेटसम्म ताली बजाईरहे । उम्मेद्वार रोस्ट्रममा उभिएर उनीहरुको अद्वितीय ताली हेरेर मुस्कुराईरहे । मञ्चमा बसेका नेताहरु पार्टीप्रतिको उनीहरुको ‘निष्टा’ देखेर हौसिए ।

उम्मेद्वारको धाराप्रवाह भाषण शुरु भयो । उनले ती  ‘भर्भराउदा’ युवामाझ मार्क्सवाददेखि द्वन्दवादसम्म र माओ विचारधारादेखि जनताको बहुदलीय जनवादसम्म छुन भ्याए । ती युवाहरुले वीचवीचमा वेप्रशङ्ग लामा–लामा ताली बजाईरहे ।

उम्मेद्वारको धाराप्रवाह भाषण शुरु भयो । उनले ती  ‘भर्भराउदा’ युवामाझ मार्क्सवाददेखि द्वन्दवादसम्म र माओ विचारधारादेखि जनताको बहुदलीय जनवादसम्म छुन भ्याए । ती युवाहरुले वीचवीचमा वेप्रशङ्ग लामा–लामा ताली बजाईरहे ।

उम्मेद्वारले अघिल्लो चुनावको प्रशङ्ग उठाएर ’त्यो बेला विभिन्न कारणले हार्यौं’ के भनेका थिए, सहभागी युवाले फेरि एक मिनेट ताली बजाए ।

‘यो तालीचाहिं मिलेन’ मञ्चमा कसैले मन अमिलो बनाउदै भन्यो ।

अब उम्मेद्वार युवाजन्य जोसिला भाषण गर्न लागे । उनी त्यस्तो जोडदार भाषणमा ताली आउला कि भनेर पर्खन्थे पनि । तर करिब आधा घण्टा ताली बज्दै बजेन ।

भाषणको अन्त्यतिर मञ्चमा बसेका मसंग डिल गर्न आउने युवा ’नेता’ले ’ए केटा हो, अब एकपटक ताली बजाऊ’ भने । उनीहरुले उम्मेद्वारले के भन्दैछन् भन्ने परवाह नगरी पुःन एकपटक एक मिनेट ताली बजाईरहे ।

भाषण सकियो । हाताहाती दश हजार बुझाईयो । त्यो ‘भर्भराउदो’ युवा जमात चुनाबभर कतै भेटिएन ।

यो प्रशङ्ग नेकपा(एमाले)ले हालै स्पष्टीकरण सोधिएका नेता माधव नेपालले आयोजना गरेको विद्यार्थी भेला हेरेपछि मानसपटलमा आयो ।

नेपालःएमाले मैले बनाएको हो, अरु पार्टी छोडेर गए हुन्छ !
सहभागीः हो….हो…. हो…पर्रर्र…र !

नेपालः म एमालेको अनुशासन मान्दिन, बरु पार्टी छोड्छु ।
सहभागीः हो….हो….हो.. पर्रर्र…र !

नेपालः के पी जीसंग कोही नेता कार्यकर्ता छैनन्, सबै मसंगै छन् ।
सहभागीः हो….हो….हो….पर्रर्र…र !

नेपालः ओलीसंग बहुमत भयो भन्दैमा हामीलाई पेल्न मिल्छ ?
सहभागीः हो….हो….हो….पर्रर्र…र !

नेपालः मञ्चमा बस्दा अलि हँसिलो बनाउनु पर्यो । अनुहार साह्रै खस्क्यो भने साथीहरुले !
सहभागीः हो….हो….हो….पर्रर्र…र !

भेला हेरेपछि म ६ कक्षामा पढ्दाको अर्को प्रशङ्ग पनि याद आयो ।

पञ्चायतकालमा राजाका जन्मजयन्ती र जन्मोत्सव आईरहन्थे । सबै अनिवार्य उपस्थित हुनुपर्ने । जन्मोत्सव र जयन्तीमा नारा जुलुस सहित नजिकैको औंशीबजार परिक्रमा गर्नु पर्थ्यो ।

अनि पञ्चहरुले आयोजना गरेको सभामा भाग लिनुपर्थ्यो । फागुन ७ गते त्यस्तै क्रार्यक्रम थियो । सरहरु हातमा लट्ठी लिएर भेडा बाख्रा डोहोर्याएझैं हामीलाई औशीबजार तिर लैजानु भयो ।

“श्री ५ त्रिभुवन अमर रहुन्” एक जना सर जुलुसको अग्रपक्तिंबाट जोडले कराए । भर्खर भर्ना भएका विद्यार्थीले जोडले नारा लगाए–“आम्माओ आओ आओ” ।

नेता माधव नेपालसहितका अरु नेताले पार्टी सामू आफूले गरेका गल्तीप्रति आत्मालोचना गरेर पार्टीलाई एकताबद्ध र शक्तिशाली बनाउनुको सट्टा भर्खरै कलेज आएका विद्यार्थी भेला गरेर किन ‘आम्माओ आओ आओ’ गराईरहेको होला ? भक्तपुरतिर एउटा किस्सा प्रचलित छ ।

‘म खेततिर गाको, जङ्गलमा स्याल कराको, म दौडेर घर आएको, भकारीमा पसेर ज्यान जोगाएको,
‘म त कामिन, भकारीचाहिं थरर कामेको !’

पार्टीले सोधेको स्पष्टीकरणपछि सार्वजनिक समारोहमा देखिएका नेता नेपाल सधैंझैं जोडदार भाषण गरे । स्पष्टीकरण नदिने, ओलीको टाङमुनी नछिर्ने दह्रो अडान अगाडि सारे । उनी पटक्कै डराएनन् ।

तर उनले ठड्याएका औंलाहरु थरर कामिरहेका थिए । जीउ नकाम्ने कुरै थिएन । पहाडबाट कालो बादल तलतिर झरेजस्तो अनुहार थियो ।

प्रतिक्रिया
सम्बन्धित