६ कार्तिक २०८३, शुक्रबार

बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ : परराष्ट्रमन्त्री

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका (बंगलादेश), १० चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् ।

मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका लागि भारतसँगको सहयोग र सम्बन्ध विस्तारमा पनि दुवै देशले समान प्राथमिकता दिएको बताए । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति भण्डारी र बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच सोमबार भएका द्विपक्षीय भेटवार्ता र अन्य छलफलमा उक्त कुरा राखिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

भेटवार्ताका क्रममा नेपालले आफ्ना उत्पादनहरूको बङ्गलादेशमा सहज व्यापारिक पहुँचका लागि प्रस्ताव गरेको मन्त्री ज्ञवालीले बताए । राष्ट्रपति भण्डारीसँग बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री डा एके अब्दुलले सोमबार शिष्टाचार भेटवार्ता गरेका थिए भने मन्त्री ज्ञवाली र विदेशमन्त्री अब्दुलबीच ‘साइडलाइन’ वार्ता भएको थियो ।

ती भेटवार्तामा आपसी घनिष्ठ सम्बन्धलाई आर्थिक साझेदारीसहित अघि बढाउन सघन छलफल भएको र औपचारिक सम्बोधनका क्रममा दुवै देशका नेताबाट उक्त प्रतिबद्धता प्रकट भएको बताउँदै मन्त्री ज्ञवालीले ऊर्जा, पर्यटनलगायत  व्यापार प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार र  जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि साझा प्रयासका विषयमा पनि छलफल भएको जानकारी दिए।

बङ्गलादेशसँग भएको रोहनपुर–सिंहबादमा नयाँ ‘ट्रान्जिट रुट’को पत्राचार आदानप्रदानको सहमतिले नेपालले तेस्रो मुलुकसँग व्यापार सुगमता पाउने निश्चित भएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

नेपालसँगको व्यापार घाटा कम गर्न बङ्गलादेशले लगाएको अतिरिक्त भन्सार शुल्क घटाउन र नेपाली वस्तु तथा उत्पादनलाई यहाँ सहजरूपमा प्रवेश पाउनका लागि आफूहरूले प्रस्ताव गरेको मन्त्री ज्ञवालीले जानकारी दिए। नेपालको धागो निर्यात गर्ने मार्ग अपायक भएकाले त्यसलाई पायक बनाउन आग्रह गरिएको र नेपालबाट बङ्गलादेशमा ऊर्जाको व्यापारका लागि भारतसँग दुवैले थप छलफल गर्ने विषयमा साझा बुझाइ रहेको उनले बताए ।

दुई देशले क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा आफूहरूका साझा विषयलाई उठाउने र समृद्धिको यात्रालाई सँगसँगै अघि बढाउने सुखद् संयोग र सङ्कल्पमा दुवै देशको समानता पाइएको मन्त्री ज्ञवालीको भनाइ थियो । रासस