३१ आश्विन २०८३, शनिबार

‘सुरक्षाको ग्यारेन्टी नभए अध्यापन गराउँदैनौं’

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ८ चैत । निजी कलेजले लकडाउनको समयको समेत शुल्क लिएको विरुद्धमा उत्रिएको आन्दोलनले उग्ररूप लिएको छ । विद्यार्थीले आन्दोलनमा उत्रिएर कलेज तोडफोड नै गर्ने स्थिति सिर्जना भएको भन्दै निजी कलेज सञ्चालकले पत्रकार सम्मेलन गरी आफूहरूको सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म अध्यापन नगराउने बताएका छन् ।

इटहरीको विश्व आदर्श, कस्तुरी, कोसी र शुष्मा कलेजका सञ्चालकले विद्यार्थीको आन्दोलनले शिक्षक, कर्मचारीहरू त्रासमा रहेकाले सुरक्षाको पूर्ण ग्यारेन्टी नभए अध्यापन नगराउने उल्लेख गरेका हुन् ।

उनीहरूले भर्चुअल माध्यमबाट अध्यापन गराएको बताउँदै कोर्स सकेको शुल्क लिएकाले लकडाउनको शुल्क छोड्न नसकिने बताए । शुल्क नतिरेको खण्डमा विद्यार्थीलाई मानसिक यातना दिएको विद्यार्थीले आरोप लगाएका छन् । शुक्रबार विश्व आदर्श कलेजका सुरक्षा गार्ड मोहन अधिकारीमाथि आक्रमण गरेको कलेजले आरोप लगाएका छ । आक्रमणबाट घाइते अधिकारीको हाल विराट नर्सिङ होममा उपचार भइरहेको छ । कलेज सञ्चालकहरूले दोषीमाथि कारबाही गर्नसमेत माग गरेका छन् ।

‘निजी कलेजमा कार्यरत शिक्षक, कर्मचारी हाल मनोवैज्ञानिक दृष्टिकोणले त्रासदीपूर्ण हिसाबले गुज्रिरहेको अवस्थामा निजी शैक्षिक प्रतिष्ठान र प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारीको पेशागत हकहितको सुरक्षामा ध्यान दिँदै सुरक्षाको वातावरण मिलाउन कलेज व्यवस्थापन, स्थानीय प्रशासन र सरोकारवालासँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । ‘शैक्षिक प्रतिष्ठानजस्तो सम्मानित, संवेदनशील र पवित्र स्थानमा कार्यरत शिक्षक–कर्मचारीको सुरक्षाको ग्यारेन्टी नभए अध्ययन÷अध्यापन गराउने वातावरण नहुने व्यहोरा जानकारी गराउँदछौं ।’ विज्ञप्तिमा उल्लेख छ । तर, प्रतिष्ठित शैक्षिक संस्थाले पैसाका लागि जस्तोसुकै कार्य गर्न पछि नगरेको विद्यार्थीले आरोप लगाउँदै आएका छन् । राजधानी दैनिकले खबर छापेको छ ।