काठमाडौं, ४ चैत । नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो ।
चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासमार्फत तीन लाख डोज खोप दिने घोषणा गरेको थियो । त्यसपछि माघ २३ मा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन संवाद गरेर ५ लाख डोज खोप दिने वाचा गरेका थिए ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फागुन १७ मा ट्वीट गर्दै थप ३ लाख डोज खोप दिने जनाएकी थिइन् । चिनियाँ दूतावासले उक्त खोप जतिसक्दो छिटो नेपालमा आइपुग्ने जनाएको थियो ।
आपत्कालीन रूपमा प्रयोग गर्नुपर्ने भ्याक्सिन हालसम्म आउन सकेको छैन । ‘हाम्रो सूचनाअनुसार नेपाललाई अनुदानमा उपलब्ध गराउने भ्याक्सिन बेइजिङको स्टोरमा छ । अब त्यो भ्याक्सिन ल्याउने काम नेपालको हो,’ चिनियाँ दूतावासका एक अधिकारीले भने ।
उनका अनुसार नेपालका लागि फेब्रुअरीको अन्त्य (फागुन १५) तिर नै खोप छुट्याइएको थियो । ‘तर नेपालले हालसम्म उक्त खोप ल्याउन कुनै पनि जहाज पठाएको छैन’, ती अधिकारीले भने ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले चीनबाट अनुदानमा प्राप्त खोप ल्याउन गृहकार्य भइरहेको जानकारी दिए । उनका अनुसार स्वास्थ्य मन्त्रालयले खोप ल्याउन परराष्ट्र मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरिसकेको छ ।
‘अब ती मन्त्रालयले मिलेर भ्याक्सिन ल्याउनेछन्,’ मन्त्री त्रिपाठीले भने । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले चीनबाट खोप ल्याउन सरकारले गृहकार्य गरिरहेको बताइन् ।
नेपाल वायु सेवा निगमका एक उच्च अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले चीनबाट भ्याक्सिन ल्याउन चार्टर्ड विमानको आग्रह गरेको छ । निगमले त्यस विषयमा जानकारी दिएर स्वास्थ्य मन्त्रालयलाई फेरि पत्र लेखेको छ । ‘अर्थबाट पनि खोप ल्याउनका लागि रकम निकासा भएको जानकारी आएको छ ।
अब छिट्टै नेपाल एयरलाइन्सले भ्याक्सिन ल्याउँछ,’ निगमका ती अधिकारीले भने । फागुन ४ गते औषधि व्यवस्था विभागले चीनबाट अनुदानमा लिने भ्याक्सिनलाई नेपालमा आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो ।
चीनबाट खोप ल्याउन ढिलाइ भए पनि भारतले अनुदानमा दिएको १० लाख खोप नेपालमा ल्याएर प्रयोगसमेत भइसकेको छ । नेपाललाई सबैभन्दा पहिले भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)मार्फत उत्पादित कोभिसिल्ड भ्याक्सिन सहयोग गरेको थियो ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेको ‘एजेडडी–१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’ नाममा उत्पादन गरेको हो । जगदीश्वर पाण्डेले कान्तिपुर दैनकिमा समाचार लेखेका छन ।















प्रतिक्रिया