मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

पार्टी बनाउने गरी आउन नेपाल पक्षलाई प्रधानमन्त्री ओलीको आग्रह

दैनिक नेपाल २०७७ फागुन २९ गते १६:४६

काठमाडौँ, २९ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई पार्टी बनाउन आउन अपील गरेका छन् ।

शनिबार अखिल नेपाल महिला संघले आयोजित समारोहमा प्रधानमन्त्री ओलीले आफुलाई ठेगान लगाउन होइन पार्टी बनाउन आउन सो समूहलाई आग्रह गरेका हुन् ।

पार्टीको केन्द्रीय कमिटी बैठक चैत ७ गते बोलाइएको बताउँदै बैठकमा सहभागी हुन आग्रह गरे । यद्यपि बैठकमा निरन्तर अनुपस्थित भए विधानअनुसार अघि बढ्ने पनि उनले जानकारी गराए ।

प्रधानमन्त्री ओलीले भने, ‘पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो रे । केही दिन अर्याल होटलमा बास बस्नु भएको छ रे । प्रशस्त समय रहोस् भनेर ७ गते बैठक बोलाएको छु । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’

ओलीले आफूलाई माधव नेपाल अध्यक्ष बनेर हटाएको भए पनि आफूले कसैलाई नहटाएको स्पष्ट पारे । त्यस्तै, आवश्यकताअनुसार केही नेताहरुलाई जिम्मेवारी दिइएको उनको भनाइ छ । उनले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने पनि बताए ।

त्यस्तै, उनले आफूविरुद्ध संघर्ष गर्न होइन पार्टी बनाउने भनेर आउन आग्रह गरे । ‘केपी ओलीलाई ठेगान लाउन आउँछौं’ भनेको सुनेको भन्दै आफूले त्यो कुरा ‘खुट्टी देख्दै पत्याएको’ र त्यसो गरे ‘बाटैमा खुट्टामा ठेस लाग्ने’ बताए । उनले समय छँदै मेहनत, पसिना, बल, बुद्धि खर्च गर्न आग्रहसमेत गरे ।

प्रतिक्रिया
सम्बन्धित