मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

सांसद पद गए पनि प्रधानमन्त्री ओलीको साथ नछोड्ने उर्जामन्त्री रायमाझीको घोषणा

दैनिक नेपाल २०७७ फागुन २९ गते १६:३६

काठमाडौँ, २९ फागुन । उर्जामन्त्री टोपबहादुर रायमाझी माओवादी केन्द्रमा नफर्किने घोषणा गरेका छन् ।

शुक्रबार नेकपा (एमाले) का नवमनोनित केन्द्रीय सदस्य रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनैपनि हालतमा नछाड्ने स्पष्ट पारे । उनले भने,‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन ।’

उनले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टी भन्दापनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिए ।

उनले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दापनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे ।

मन्त्री रायमाझीले अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने दाबी गरे । उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी ’ भएको संज्ञा दिए ।

उनले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा (आफ्नै पार्टी) बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाए । देशलाई अस्थिरतरताबाट बचाउनको लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भएपनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए । अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको उनले सुनाए ।

उनले आफूले मोहनविक्रम सिंहको पार्टीबाट राजनीति सुरु गरेको भन्दै यो बीचमा विभिन्न कम्युनिष्ट घटक हुँदै माओवादीसम्म आईपुगेको र अहिले माओवादीबाट एमाले भएको सुनाए ।

आफू सही विचार र नीतिको राजनीति गर्ने व्यक्ति भएकोले अहिले ओलीले बोकेको विचार सही भएकोले यता लागेको पनि रायमाझीले स्पष्ट पारे ।

तर, कम्युनिष्ट पार्टी छोडेर कांग्रेस वा राप्रपामा भने नजाने उनले विश्वास दिलाए । उनले अब माओवादी केन्द्रमा कुनैपनि हालतमा फर्कने सम्भावना नरहेको दोहोर्याए ।

प्रतिक्रिया
सम्बन्धित