
काठमाडौँ, २९ फागुन । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई कारवाही गर्नेबारे छलफल अघि बढाएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई कारवाही गर्नेबारे छलफल अघि बढाएका हुन् ।
नेता नेपाललगायत करिब एक दर्जन नेताहरुलाई अनुशासनको कारवाही गर्नेबारे छलफल चलाउन थालिएको बुझिएको छ ।
ओली पक्षले नेपाल समूहले गुटबन्दी गरेको, आफ्नै सरकार गिराउन खेल खेलेको लगायत आरोप लगाएको छ ।
प्रधानमन्त्री ओलीले उनीहरुमाथि शुक्रबार नै कारवाही गर्न खोजेपनि नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेललगायतले अहिले नै त्यसो नगर्न अन्य गतिविधि हेरेर कदम चालिनुपर्ने सुझाव दिएपछि ओली रोकिएका थिए ।
ओलीले शुक्रबारको बैठकबाट गरेका निर्णयहरुबाट रुष्ट बनेको नेपाल पक्षले भने ओलीको निर्णय अस्वीकार गर्ने मात्रै नभइ चैत ४ गते कार्यकर्ता भेला बोलाएको छ ।
त्यस्तै, समानान्तार कमिटी बनाउने समेत घोषणा गरेको छ । यसले एमाले भित्रको विवाद झन् चुलिने देखिन्छ । दुवै पक्षले निषेधको राजनीति तथा दम्भको भाव त्यागेर अघिबढ्नुपर्ने शुभेच्छुकहरु जोड दिन्छन् ।














प्रतिक्रिया