३१ आश्विन २०८३, शनिबार

एमाले–जसपा छलफलः माग सम्बोधनमा प्रधानमन्त्री सकारात्मक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताबीच सत्ता सहकार्यका विषयमा भएको छलफल सकारात्मक मोडतर्फ अघि बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताहरूबीचको छलफल सकारात्मक रहेको नेताले बताएका छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जसपा नेताहरूले आफ्ना माग राखेका थिए । जसपा नेताहरूको माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको र दुवै पक्षबीचको संयुक्त बैठक पुनः शुक्रबार बस्ने बताइएको छ ।

जसपा कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जसपाले उठाउँदै आएका मुद्दा नै सम्बोधन गर्ने गरी छलफलमा विषय उठान गरिएको बताए । जसपाले संविधान संशोधन, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयकलगायतका विषय उठाउँदै आएको छ ।

यस्तै लाल आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत जसपाले गर्दै आएको छ । यही माग छलफलमा उठाइएको र आफ्नो मागबारे प्रधानमन्त्री सकारात्मक रहेको कर्णले बताए ।

‘हामीले उठाउँदै आएको माग विषय प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ,’ कर्णले राजधानीसँग भने भने, ‘शुक्रबार पुनः कार्यदलस्तरमा बैठक गरेर छलफल गर्ने सहमति गरिएको छ ।’

छलफलमा प्रधानमन्त्री ओली, महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा जसपा तर्फबाट अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताद्वय राजेन्द्र महतो, अशोक राई, कर्णलगायतका नेता छलफलमा सहभागी थिए ।

जसपाले कर्णको नेतृत्वमा वार्ता गर्ने गरी सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल बनाएको छ । यस्तै, एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव पौडेल, सल्लाहकार भट्टराईसहितको कार्यदल बनाएको छ ।

सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि प्रधानमन्त्री ओलीले सरकारको पक्षमा बहुमत पु¥याउन जसपाको समर्थन खोजेका छन् । ओली सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले समर्थन फिर्ता लिने कि नलिने भन्ने विषय अझै निर्णय गर्न सकेको छैन ।

प्रतिनिधि सभा २ सय ७५ सदस्यीय छ । सरकार गठन गर्न १३८ सांसद आवश्यक पर्छ । एमालेसँग अहिले १ सय २० सांसद मात्रै रहेका छन् । जसपासँग ३४ सांसद रहेकोमा २ जना निलम्बित छन् । माओवादीले आफ्नो समर्थन फिर्ता लिए पनि जसपाले समर्थन दिएमा सरकारलाई आवश्यक बहुमत पुग्छ ।

नेकपा एमाले र जसपाबीच सत्ता सहकार्यका लागि छलफल भइरहेको छ । तर, जसपा सचिवालयको बिहीबार बसेको बैठकले संसद्मा रहेका प्रमुख तीन दलसँग सत्तासहकार्यका लागि छलफल गर्ने निर्णय गरेको छ ।

जसपा सचिवालयको बैठकले राजनीतिक संकट समाधानका लागि सत्तारूढ एमाले, सत्ता समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने निर्णय गरेको जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टाईले बताए । बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको उनले बताए ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता साझेदारीका लागि जसपासँग औपचारिक आग्रह गरिसकेका छन् । जसपाले आफ्ना माग सम्बोधन भएपछि सत्ता सहकार्यका विषयमा छलफल गर्ने बताउँदै आएको छ । सरकार निर्माणका लागि निर्णायक रहेको कांग्रेसले स्पष्ट निर्णय गर्न नसक्दा अहिले जसपा सरकार निर्माणका लागि निर्णायक बनेको छ ।

यस्तै, पार्टीको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक ५ चैतमा बस्ने निर्णय पनि भएको छ । जसपा सचिवालयमा संघीय परिषद् अध्यक्ष भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई रहेका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।