काठमाडौं, २७ फागुन । संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) तानातानमा परेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससहितको सरकार गठन गर्न जसपाको साथ खोजेका हुन् ।
जसपाले भने दुवै पक्षसँग आफ्नो माग सम्बोधन हुने ग्यारेन्टी खोजिरहेको छ।रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको जसपाले प्रधानमन्त्री ओली र अर्को पक्षलाई ‘उधारोमा होइन नगद’मै मात्र कुरा हुने अडान लिएको हो ।
एमाले र माओवादी केन्द्र दुवैले बुधबार पनि जसपाका नेताहरुसँग भेट गरेका छन्।जसपाभित्रको राजपा पृष्ठभूमिका नेता अझ धेरै तानातानमा देखिएका छन्।समाजवादी पृष्ठभूमिका नेता भने केहीबाहेक ओली नेतृत्वको सरकारको विपक्षमा छन्।माओवादी केन्द्रले साथ छोडे नपुग १८ मतका लागि ओलीले जसपाभित्रको राजपा पृष्ठभूमिका नेतालाई फकाउने प्रयास जारी राखेका छन् ।
बिहान एमाले, दिउँसो माओवादी केन्द्रसँग छलफल ‘उधारो होइन, नगद’मै आफ्ना माग पूरा हुनुपर्ने अडान रेशम चौधरीको रिहाइ मुख्य माग माओवादी केन्द्र भने यो सरकारको विकल्पमा अर्काे समीकरण बनेपछि मात्र समर्थन फिर्ता लिने पक्षमा देखिएको छ।पार्टी अध्यक्ष दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए।काग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिए मात्र प्रधानमन्त्री ओलीको विकल्प खोज्न सक्ने संसदको अंकगणितले देखाउँछ ।
दाहालले बुधबार स्थायी समिति बैठकमा देउवासँगको छलफल सकारात्मक भए पनि जसपासँगको छलफलले निर्णायक रूप लिने ब्रिफिङ गरेका थिए।माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालले देउवा र डा. भट्टराईसँग गरेको छलफलबारे जानकारी दिएको बताए । रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा खबर लेखेका छन् ।















प्रतिक्रिया