
काठमाडौँ, २६ फागुन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूहरु पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन् ।
प्राइम टेलिभिजनमा अन्तर्वाताका क्रममा रावलले यस्तो बताएका हुन् । त्यस्तै, उनले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको समेत बताएका छन् ।
“हामी एउटै पार्टीको हो– उहाँ (केपी ओली) अध्यक्ष हुनुहुन्छ म उपाध्यक्ष । यो देशलाई गन्तव्यमा पुर्याउने हामी साझा थलो, उद्देश्य र लक्ष्यका साथ अघि बढ्छौं”, उपाध्यक्ष रावलले भने, “अध्यक्षसँग काँधमा काँध मिलाए अघि बढ्छौँ ।”
उनले अब अध्यक्ष ओली तथा सबै मिलेर नेकपा एमालेलाई अझै सशक्त बनाउने दावी गरे ।
“नेपाली जनताले यत्रो विश्वास दिएर निर्वाचित गरे, हामीले त्यही बेला ओलीलाई पाँच वर्षको प्रधानमन्त्री भने अघि बढाएका हौँ । अन्तरविरोध स्वरुप पछि समस्या उत्पन्न भएको हो। यसबीचमा जे जस्ता घटना भए ती दुःखद हुन्”, रावलले भने ।
उनले विगतका गल्तीहरुलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए । भने, “हामी पार्टी फुटाउन चाहदैनौँ । हामी फुट होइन एकीकरणका वाहक हौँ ।”
नेकपा एमाले निर्माण, सिर्जना र अघि बढाउने कुरामा सबैको योगदान रहेको उनले बताए । नेकपा एमाले सबैको पार्टी भएको उनले जनाए ।
उनले प्रधानमन्त्री ओलीलाई कुन पार्टीको हो भनेर सोधेको कुरालाई गलत तरिकाले प्रयोग गरिएको बताए ।
“त्यहाँ मैले प्रश्न सोधेको के हो भने हामी यहाँ प्रस्तुत हुँदा कुन पार्टीको रुपमा प्रस्तुत भइराखेका छौँ । प्रधानमन्त्री स्वयम नै कुन पार्टीको रुपमा प्रस्तुत हुनुहुन्छ त्यो नै प्रष्ट भइसकेको थिएन, किनकि सर्वोच्चले दुई पार्टीलाई त पुरानै अवस्थामा फर्काइदिएको थियो”, उनले स्पष्ट पारे ।
“सर्वोच्च अदालतको फैसलापछि हामी नयाँ परिस्थितिमा आएका छौँ । नेकपा एमाले हजारौ, लाखौँको पसिना र रगतबाट सिर्जित पार्टी हो,” उनले भने।
पुरानै पार्टीमा फर्कँदा आफ्नो कुनै बिजोग नभएको उनले बताए । उनले थपे, “हामी नेकपा एमालेमा छौँ । कोही व्यक्ति गएको, कोही आएको भन्ने हुँदैन ।”
उनले एमाले एक विधिको आधार चल्ने पार्टी भएकाले पार्टीको विधिवत निर्णयलाई सबैले मानेर अघि बढ्नुपर्ने बताएका छन् ।
“विगतमा कतिपय कुराहरु पार्टीको निर्णय अनुसार भयो, त्यहा समस्या आएन। जहाँ भएन त्यहाँ समस्या आयो। अब विगतबाट पाठ सिकेर त्यस्तो हुन नदिन सबैले योगदान दिनुपर्छ”, रावलले भने ।
“प्रधानमन्त्रीसँग पदमा रहने नैतिकता छैन’ भन्ने अभिव्यक्ति अन्तरविरोधको अवस्थामा आपूmले दिएको उनले बताए। “मैले के भने, मलाई के भने भन्ने अध्याय समाप्त भएको छ”, उनले भने ।
सर्वोच्चको फैसलापछि आपूmहरु नेकपा एमालेको विधि, प्रक्रिया र मान्यतामा प्रवेश गरेको उनले स्पष्ट पारे ।
“अब नयाँ यात्रा आरम्भ गर्छौं, त्यो नयाँ यात्रा भनेको विधि सम्मत हुन्छन्। त्यसलाई नमान्ने कुरा हुँदैन । ती सबै पार्टीको विधि अनुसार आउँछन्”, रावलले भने । अन्तरविरोधको समाप्त भएको दाबी उनले गरे ।
“अब नेकपा एमालेलाई बलियो सुसंगठित रुपमा अघि बढाउनु पर्छ। हामी त्यो चरणमा प्रवेश गरिसक्यौं”, उनले बताए ।














प्रतिक्रिया