
काठमाडौँ, २६ फागुन । दैलेखको आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीय सुकी बडुवालले आफ्ना चार सन्तानसहित आत्महत्या गरेकी छन् ।
चरम गरिबी र दिनहुँ श्रीमानले मदिरा सेवन गरेर कुटपिट गरी पारिवारिक कलह बढेपछि विक्षिप्त भएपछि उनले आत्महत्याको बाटो रोजेको बताइएको छ ।
प्रहरीको अनुसन्धानबाट गरिबी र श्रीमानको मदिरा सेवनले निम्त्याएको समस्याका कारण त्यस्तो बाटो रोजेकी खुलेको हो ।
विश्वभर १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा दैलेखमा भने यस्तो दर्दनाक घटना भएको थियो ।
२४ गते सोमबार सुकीले मदिराले लठ्ट श्रीमानलाई बजारबाट घरमा ल्याएर सुताएकी थिइन् । उनी भने गाईँ गोरुलाई घाँस काट्ने बहानाले चारै जना सन्तानसहित कर्णालीको किनारतिर लागिन् । साँझविहानको कलहले आफूलाई विक्षिप्त बनाएपछि आत्महत्याको बाटो रोजेको देखिएको छ ।
स्थानीयका अनुसार सुकीले घर छोडेको दिन पनि सबैलाई श्रीमानले कुटपिट गरेका थिए । हुन त कर्णालीमा गरिबीले मान्छेको ज्यान लिएको कुरा कुनै नौलो भने होइन । यद्यपि यति कारुणिक घटना भने विरलै हो ।
सोमबार दुई बालिकाको हात बाँधिएको अवस्थामा र मंगलबार आमा सुकी र छोराको डोकोमा लगाएको दाम्लोले बाँधिएको अवस्थामा शव भेटिएको थियो । प्रहरीले उनीहरु चारै जनाले सल्लाह गरेरै आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
स्थानीयका अनुसार त्यही दिन पनि सुकीका श्रीमानले मदिरा सेवन गरेका थिए । प्रदेश प्रहरी कार्यालयले सुकीसहित १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता र ८ वर्षीया ललितको शव भेटिएको जनाएको छ । ६ वर्षीया बालिका रजनीको अवस्था भने अझै अज्ञात रहेको छ । घटनालगत्तै कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्त लगायतको टोली पनि घटनास्थलको निरीक्षण गरेको छ ।
रजनीको खोजीका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सुकीले आफैँ मजदुरी गरेर ६ जनाको परिवार पालन पोषण गर्दै गरेकी थिइन् ।
विगत एक वर्षदेखि दैनिकजसो श्रीमानले मदिरा सेवन गरी कुटपिट गरेको बुझिएको छ । भारतमा मजदुरी गर्ने उनका पति मानसिंह बडुवाल कोरोना महामारीपछि २०७६ चैतमा घर फर्किएका थिए । पतिकै यातनाले सुकीले त्यस्तो बाटो राजेको स्थानीयको दावी छ ।
मृत भेटिएका आमा र ३ छोराछोरीको शव पोष्टमार्टमका लागि अछामको मंगलसेन लगिएको छ ।
शव नदी किनार अछाममा पर्ने स्थानमा भेटिएकाले त्यतै पोष्टमार्टमका लागि लगिएको तर मुद्दा भने दैलेखमै चल्ने प्रहरीले जनाएको छ ।
अनुसन्धानका लागि सुकीका श्रीमान मानसिंहलाई सोमबार नै पक्राउ गरिएको छ । घटनाले पुरै गाउँ शोकमा डुबेको छ ।














प्रतिक्रिया