शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

संसद् अवरोध हुने संकेत

दैनिक नेपाल २०७७ फागुन २३ गते ६:५७

काठमाडाैं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने/नदिने भन्नेबारे छलफल गरिरहेको छ। सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको नेताका रूपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ।

‘आइतबारदेखि सदन चल्दैछ। नेकपा औपचारिक रूपमा विभाजन भएको छैन। सभामुखले दलको नेताका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन नगरी प्रचण्ड (पुष्पकमल दाहाल) लाई गर्न खोजे त्यसको प्रतिवाद गरिनेछ,’ ओली समूहका एक सांसदले भने। उनका अनुसार सभामुख सापकोटाले मुख्य सचेतक विशाल भट्टराईलाई मान्यता नदिई कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाएमा र भट्टराईले समय माग्दा पनि सभामुखले समय नदिएकाले संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई सभामुखले नेकपा संसदीय दलको नेता नमान्ने संकेत देखिएको हुँदा त्यसको प्रतिवादमा ओली समूहले तयारी थालेको हो।

‘धेरै विषय सभामुखमा निर्भर रहन्छ,’ ओली समूहका एक सांसदले भने, ‘वैधानिक बाटो छाडेर चोरबाटोबाट आउनेहरूलाई सभामुखले मान्यता दिने कुरा सह्य छैन।’ ओली समूहले विभिन्न रणनीति अख्तियार गर्न सक्ने भन्दै दाहाल–नेपाल समूहले भने अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको छ। ‘हेरौं न, अविश्वासको प्रस्ताव कसले पेस गर्दो रहेछ, कुन ारमा अविश्वासको प्रस्ताव आउँछ। हामी त्यसैअनुसार धारणा बनाउनेछौं,’ ती सांसदले भने।

बालुवाटारनिकट स्रोतका अनुसार कांग्रेससँग पनि यो विषयमा छलफल भइरहेको छ। कांग्रेस तत्कालै अविश्वासको प्रस्ताव लिएर आउने/नआउने भन्ने निक्र्योमा पुगिनसकेकाले अहिलेलाई सभामुखको व्यवहारलाई हेरेर मात्रै सदनमा ओली समूहको उपस्थिति रहने बताइएको छ। ‘प्रधानमन्त्री ओली यतिबेला विश्वासको मत माग्ने अवस्थामा हुनुहुन्न। उहाँले संसद्मा आउने अविश्वासको परिणाम नै स्वीकार गर्ने हो तर त्यो अविश्वासको प्रस्ताव वैधानिक बाटोबाट आउनुपर्‍यो नि,’ बालुवाटारनिकट स्रोतले भन्यो, ‘निर्वाचन आयोगले नेकपासम्बन्धी विवाद टुंग्याएको छैन। कानुनी रूपमा दल विभाजन भएको छैन। त्यसैले प्रचण्डलाई संसदीय दलको नेता मान्ने आधार छैन।’

संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले कसैको दबाब र प्रभावमा नपर्न सांसदहरूलाई निर्देशन थिए।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले आफूहरू बहुमतमा रहेको तथा बहुमत जुटाउने जिम्मा आफ्नो भएको उल्लेख गर्दै अन्य समूहतिरको प्रलोभनमा नपर्न र परिस्थितिको डटेर सामना गर्न निर्देशन दिएका थिए। उनले दाहाल–नेपाल समूहको घेराबन्दीमा परियो भन्ने नठानी घेरा तोड्न आग्रह गरेका थिए।

‘अर्कातिरबाट माननीयहरूलाई भ्रममा पार्ने, दबाब दिने गर्छन्, घेराबन्दीमा पार्छन्, ती सबै तोडेर आउनुहोला,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत् गर्दै एक सांसदले भने। ती सांसदका अनुसार प्रधानमन्त्री ओली आफ्नो समूहमा बहुमत पुग्नेमा ढुक्कजस्तै देखिएका थिए। ‘हामी ढुक्क छौं, तपाईंहरूले आफ्नो प्रस्तुति राम्रोसँग राख्नुहोला संसद्मा डटेर सामना गर्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने। सांसद पदम गिरीका अनुसार प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत रहेको बताएका थिए। ‘संसदीय दलमा बहुमत छ, अहिले हामीसँग १ सय १५ छन्। तपार्इंहरू ढुक्क हुनुहोस्, निर्भीक भएर प्रतिवाद गर्नुहोस्,’ ओलीको भनाइ उद्धृत गर्दै उनले भने।

त्यसक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढालेर अरूलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्नु भनेको कम्युनिस्ट आन्दोलनविरुद्ध भएको बताएका थिए। ‘कम्युनिस्टहरूको बहुमतको सरकार ढालेर गैरकम्युनिस्टलाई सरकार गठन र प्रधानमन्त्री बनिदिनू भन्नु कम्युनिस्ट आन्दोलनविपरीत हो, यसलाई पराजित गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद गिरीले भने। उनका अनुसार बैठकमा प्रतिनिधिसभाबाट ९१ र राष्ट्रिय सभाबाट २४ गरी १ सय १५ सांसदको उपस्थिति थियो। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित