शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

साकार बन्दै मेलम्ची सपना

दैनिक नेपाल २०७७ फागुन २३ गते ६:४१

काठमाडाैं, २३ फागुन । २०४८ सालको आम निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट उम्मेदवार थिए। चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका मतदातालाई आफूतिर तान्न उनले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। ठट्यौला भट्टराईको यो नारालाई धेरैले ठट्टाकै रूपमा लिए।

२०५१ सालको मध्यावधि निर्वाचनमा पनि काठमाडौं–१ र पर्साबाट चुनाव लडेका उनले फेरि पनि भट्टराईले मेलम्चीको पानीले राजधानी धुने नारा छाडेनन्। यतिसम्म कि भावी प्रधानमन्त्रीका रूपमा २०५६ सालको संसदीय निर्वाचनमा पर्साबाट उठ्दा वीरगन्जको सभालाई सम्बोधन गर्दा उनले ‘मेलम्चीले काठमाडौं पखाल्छु’ भन्न बाँकी राखेनन्।

वीरगन्जवासीका लागि त्यो नाराले खासै अर्थ राख्दैनथ्यो। त्यसकारण उनी त्यहाँ पनि मजाकका पात्र बने। मेलम्ची खोला राजधानी पुर्‍याउने विषय नै अपत्यारिलो थियो। त्यसैले भट्टराईलाई हाँसोमा उडाउनु अस्वाभाविक थिएन। तर उनै भट्टराईले देखेको मेलम्ची सपना दुई दशक नाघेसँगै साकार भएको छ। मेलम्चीको पानी शनिबार सुन्दरीजल ओर्लेसँगै हिजो नेता भट्टराईलाई उडाउनेहरू आज उनैलाई सम्झिरहेका होलान्। जेहोस् अब उपत्यकावासीका घरघरमा मेलम्ची पुग्ने विश्वास बलियो भएको छ।

काठमाडौं उपत्यकामा खानेपानीको दीर्घकालीन स्रोत खोजी हुन थालेको करिब पाँच दशक भयो। बिस्तारै उपत्यकाको जनघनत्व बढ्दै थियो। विभिन्न जिल्लाबाट अध्ययन, रोजगारी, व्यवसायका लागि राजधानी छिर्नेको लर्को लामो हुँदै जान थाल्यो।

घर निर्माणले तीव्रता लियो। बाग्मती र आसपासका नदी दोहनले भूमिगत पानी सुक्दै गयो। सन् १९७० को दशकदेखि उपत्यकामा खानेपानीको समस्या देखियो। त्यसपछि वैकल्पिक स्रोत खोज्न थालियो। त्यतिबेलै उपत्यकाको खानेपानी वितरण सुधार्न खानेपानी तथा ढल निकास विकास समिति बन्यो। एडिबीको आर्थिक सहयोगमा काम गरेको सो समितिले खानेपानीको दीर्घकालीन स्रोत नखोजे उपलब्ध पानीले उपत्यकालाई नधान्ने निष्कर्ष निकाल्यो।

सन् १९८८ मा ब्रिटिस कम्पनी विनियम पार्टनरलाई खानेपानीको वैकल्पिक स्रोत पहिचान गर्ने जिम्मा दिइयो। समितिले २० वटा विकल्प प्रस्तुत गर्‍यो।

रोसी खोला, त्रिशूली नदी, लाङटाङ, कुलेखानीलगायत खोलाको पानी पम्प गर्ने या मेलम्ची पानी सुरुङमार्फत ल्याउने। मेलम्ची पहिलो नम्बरमा थियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेस नेता भट्टराईले प्राथमिकताको एक नम्बरमा परेको मेलम्चीलाई चुनावी नाराका रूपमा बहसमा ल्याइरहे। सन् १९९८ मा अस्ट्रेलियाको स्प्रे माउन्टेनलगायत कम्पनीले मेलम्चीको फिजीबिलिटी स्टडी गरे भने नरप्लान्टले विस्तृत सर्भे गर्‍यो। यसअघि नै यससम्बन्धी काम गर्न ०५३/५४ तिर मेलम्ची वाटर लिमिटेड गठन गरिएको थियो।

२०५५ (सन् १९९८) मा आयोजना कार्यान्वयन गर्न मेलम्ची खानेपानी विकास समिति गठन गरियो। त्यसको दुई वर्षपछि सन् २००० बाट दैनिक १७ करोड लिटर पानी भित्र्याउने लक्ष्यसहित विधिवत् रूपमा मेलम्ची खानेपानी आयोजना सुरु भयो। नरप्लान्टले गरेको अन्तिम डिजाइनका आधारमा एसियाली विकास बैंक (एडिबी) र विकास समितिबीच १ सय २० मिलियन अमेरिकी डलर ऋण सम्झौता भएपछि पूर्वाधार निर्माणको कामबाट आयोजना अघि बढ्यो।

विनियम पार्टनरले दिएका २० मध्ये १९ विकल्प ‘पम्पिङ’ (तान्ने) मा आधारित थियो। सुरुङको तुलनामा विद्युत् शक्ति खपत हुने हुँदा पम्पिङ ज्यादा महँगो पर्न जान्थ्यो। त्यसैले सुरुङमार्फत पानी ल्याउन सकिने मेलम्ची पहिलो प्राथमिकतामा परेको थियो। नजिकका लार्के र यांग्री नदी पनि एउटै सुरुङमा छिराएर लैजान सकिने विकल्पसमेत भएपछि मेलम्ची नै रोजाइमा पर्‍यो। ध्रुव दंगालले नागरिक दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित