३१ आश्विन २०८३, शनिबार

‘मलाई हटाए दुई तिहाइ बहुमत ल्याएर पुनः फर्किन्छु’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १९ फागुन । प्रधानमन्त्री केपी ओलीले आफूलाई सरकारबाट हटाए अर्को निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार फर्कने बताएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनपछि देश बनाउन अझै बाँकी रहेकाले जस्तै चुनौती आए पनि सामना गरेर सिंहदरबार फर्कने बताएका हुन्।

‘नेपालमा काम गर्नेलाई टिक्न दिइँदैन। मेरो नेतृत्वको सरकारले विकासको बाटो खनेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो बाटोमा तगारो हाल्ने काम भए र मलाई हटाए पुनः फर्किएर सुरु गरेको काम सक्नेछु।’

ओलीले आफ्नो नेतृत्वको सरकारलाई घेरामा पार्ने र हटाउने चलखेल भएको लामो समय भएको स्मरण गर्दै अझै पनि हटाउलान् कि भनेर आफूले खुट्टा भने नकमाएको बताए। ‘म पहिले त हटाएर देखाउन चुनौती दिन्छु’, ओलीले भने, ‘यदि हटाए भने पनि छोटो समयमा बहुमत ल्याएर सिंहदरबार फर्केर काम गरेर देखाउँछु।’

ओलीले आफूले समृद्ध नेपाल, सुखी नेपालीको नाराबाहेक अन्य कुनै लक्ष्य नबोकेको बताए। यो नाराको उद्देश्य प्राप्तिका लागि आफ्नो जीवनभर लाग्ने वाचा उनले गरे। ‘समृद्ध नेपाल सुखी नेपालीबाहेक अरू कुरामा बहकिनु छैन मलाई’, उनले भने, ‘राज्यको ढुकुटीबाट मलाई लिनु छैन, कमाउनु र परिवार पाल्नु छैन। म समृद्ध नेपाल सुखी नेपालीको चार शब्दभित्र राष्ट्र निर्माणको दर्शन लुकेकाले यसको मर्म र भावनालाई पूरा गर्छु।’

उनले प्रतिनिधिसभा पुनःस्थापना गर्न सर्वोच्च अदालतले दिएको फैसलाको सम्मान गर्ने बताए। फैसलाको मूल्यांकन अब देखिने परिणामले गर्ने उनको भनाइ थियो। ‘म प्रधानमन्त्री हुँ, म कतै मुद्दा मामिलामा लागेको पनि छैन। अदालतको फैसला मैले मानेकै छु’, उनले भने, ‘यसको मूल्यांकन मैलेभन्दा पनि परिणामने गर्नेछ।’

उनले सर्वोच्चले भनेबमोजिम फागुन २३ मा प्रतिनिधिसभा बैठक आह्वान गरिएको बताए। ‘मैले अधिवेशनको आह्वान गरेको छु, राम्ररी अधिवेशन अघि बढाउने भूमिका मेरो रहनेछ’, उनले भने।

उनले आफू राजनीति गर्ने मान्छे भएकाले आफूमाथि अन्याय भए नागरिकमा जाने र न्याय नागरिकले नै दिने बताए। ‘म राजनीति गर्ने व्यक्ति हुँ, मैले नागरिकको हितमा काम गरेको छु, मलाई अन्याय भएको महसुस भए म नागरिकमा जान्छु’, उनले भने, ‘मलाई नागरिकले पक्कै पनि न्याय दिनेछन्।’ अरूतिरको फैसलाभन्दा पनि नागरिकले गरेको फैसला दिगो र विश्वासयोग्य हुने उनको भनाइ थियो।

उनले छिमेकीभन्दा पनि नेपाली जनतालाई ‘कम्फरटेवल’ सरकार चाहिएको बताए। ‘नेपाल आफ्नो लक्ष्य र सिद्धान्तमा अघि बढ्नुपर्छ। आफूले कोरेको बाटो दौडनुपर्छ,’ उनले भने, ‘यहाँ छिमेकीलाई होइन, नेपाली जनतालाई कम्फरटेवल सरकार चाहिएको हो।’

उनले नेपाल विकासको मार्गमा एक खुट्किलो माथि उक्लिएको उल्लेख गरे। अबको काम भनेको छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै आफ्नो सम्प्रभुता सुरक्षित राख्नु भएको उनको भनाइ थियो। ‘इतिहासमा नभएको काम मेरो नेतृत्वमा बनेको सरकारले गरेको छ। देश सुरुङ युगमा प्रवेश गरेको छ, अरूलाई रिझाएरभन्दा पनि आफ्नो उद्देश्य र लक्ष्यमा सरकार लाग्नुपर्छ’, उनले भने।

उनले देशमै रोजगारी सिर्जना गर्न सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्न सुरु गरेको बताए। घर नभएकालाई एकीकृत बस्ती निर्माण गरी घर हस्तान्तरणसमेत गरिरहेको उनको भनाइ थियो। प्रधानमन्त्रीले मंगलबार झापाको बिर्तामोडमा ३७ वटा घर हस्तान्तरण गरे भने मोरङको उर्लाबारीमा एकीकृत सन्थाल बस्ती निर्माणको शिलान्यास गरे। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।