काठमाडौं, १८ फागुन । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ।
कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ खोपविज्ञ डा. श्यामराज उप्रेतीले कोभिसिल्ड खोप ७१ प्रतिशत मात्र प्रभावकारी भएको जानकारी दिए। उनले भने, ‘सय जनाले खोप लगाएमध्ये झण्डै ३० प्रतिशतलाई कोरोना संक्रमण हुने सम्भावना हुन्छ। खोप लगाए पनि सुरक्षा मापदण्ड पालना गर्नुपर्छ।’
कोभिसिल्ड खोपको पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने डा. उप्रेतीले बताए। ‘पहिलो मात्रा लगाएको खोपले १२ सातासम्म काम गर्छ’, उनले भने, ‘दोस्रो डोज लगाएको दुई डोज (मात्रा) दिइसकेपछि ८ हप्तादेखि १२ हप्तासम्म मात्र प्रभावकारिता रहन्छ।’
भारतले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप हालसम्म ४ लाखभन्दा बढीले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खोप कम्तीमा ८ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्ने विज्ञहरूको सुझाव छ। पहिलो मात्रा कोभिसिल्ड खोप लगाएपछि दोस्रो मात्रा पनि कोभिसिल्ड खोप नै लगाउनुपर्ने उप्रेतीले बताए।
प्रभावकारिताका दृष्टिले खोप लगाएका मध्ये झण्डै १ लाख २० हजार संक्रमणको जोखिममा रहेको विज्ञ बताउँछन्। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. कृष्ण पौेडेलले भने, ‘ खोपको दोस्रो डोज (मात्रा) पाइसकेका छैनन्। सुरक्षा मापदण्ड नअपनाउनेहरूलाई खोप लगाएकाहरूलाई पनि कोरोना संक्रमण हुन सक्छ।’
भारतस्थित सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित खोप अभियानका रूपमा लगाउन थालिएको छ। अनुदानको १० लाख मात्रा कोभिसिल्ड खोप अभियानका रूपमा ७७ वटै जिल्लामा सुरु भइसकेको छ। उक्त खोप अक्सफोर्ड युनिभर्सिटी र औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन्। कम लागत रहेको कोभिसिल्ड खोप फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खरिद गर्ने सम्झौता गरिएको थियो।
त्यसको पहिलो खेपमा आएको १० लाख मात्रा लगाउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप अभियानको पहिलो र दोस्रो चरणमा कोभिड १९ खोपको पहिलो मात्रा पाएका सबैलाई १० देखि १२ हप्ताको फरकमा वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा दिने तयारी गरिएको छ।
त्यस्तै, फागुन २३ गतेदेखि चैत १५ गतेसम्म दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ।
खोप लगाएकामा संक्रमण
कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएको १६ दिनपछि पत्रकार दामोदरप्रसाद दवाडीलाई संक्रमण भएको छ। ५६ वर्षीय उनले माघ ३० गते निजामती अस्पताल काठमाडौंमा खोपको पहिलो डोज लगाएका थिए।
खोप लगाएको दुई सातापछि गत शुक्रबार पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको दवाडीले बताए। उनले भने, ‘जिउ दुख्ने, ज्वरो आउने र खोकीसमेत लागेपछि स्वास्थ्य जाँच गरेको थिएँ।’ दवाडी अहिले होम आइसोलेसनमा छन्। उनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले खोप लगाएपछि संक्रमण भएकोबारे कुनै जानकारी प्राप्त नभएको बताए।
उनले भने, ‘पहिलो डोज (मात्र) लगाएका व्यक्तिलाई कोरोना संक्रमण हुन सक्छ। खोप लगाएको १६ दिनमा संक्रमण भएको हो भने एन्टिबडी विकास हुने समय पनि भइनसकेको हुनुपर्छ। त्यसबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।’ दिनेश गाैतमले अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया