बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दाहाल-नेपालमा ‘ओली प्रवृत्ति’

दैनिक नेपाल २०७७ फागुन १४ गते ७:१०

काठमाडौं, १४ फागुन । सर्वोच्च अदालतले गत ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसला सुनाउँदा नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल चितवनको एक रिसोर्टमा थिए । १२ गतेका लागि तय भएको विरोधसभालाई सम्बोधन गर्न पुगेका उनीहरूले एकछिन उत्सव मनाए र त्यो सभालाई विजयसभामा परिणत गर्ने घोषणा गरे ।

अध्यक्ष दाहालले यो घोषणा गर्दा प्रफुल्लित कार्यकर्ताले जोडले ताली बजाएर समर्थन गरे । खुसियालीमा लड्डु पनि ल्याइएको थियो । दुई अध्यक्षले एक–अर्कालाई लड्डु खुवाएर उत्सव मनाए । त्यो उत्सवमा खुसियालीभन्दा धेरै उत्ताउलोपन देखियो, जुन दृश्यले नेकपाभित्रैका धेरै नेता–कार्यकर्ताको आँखा बिझायो । त्यो दृश्य ठ्याक्कै त्यस्तै थियो– जस्तो २०७४ फागुन २ गते प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई तत्कालीन एमाओवादीले समर्थन गर्ने सहमतिपछि ‘भ्यालेन्टाइन्स डे’ समेत परेको भन्दै ओली र दाहालले आपसमा फूल साटासाट गरेर प्रेम प्रदर्शन गरेका थिए ।

पार्टी नेतृत्वका बारम्बारका यस्ता हर्कत धेरै नेता–कार्यकर्ताजस्तै दाहाल–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेलाई पनि खल्लो लागेको छ । ‘हामीले आफ्नै बलले मुद्दा जितेको पनि होइन, सर्वोच्चले आफ्नो बलले निर्णय सुनायो, हामीले उठाएको आन्दोलन र अदालतले गरेको फैसलाका बीचमा मेल खाएको मात्रै हो, त्यो खुसियालीमा लड्डु खाने संस्कृति राम्रो होइन भन्ने मेरो बुझाइ हो,’ न्यौपानेले कान्तिपुरसँग भने, ‘संस्थागत हिसाबले पार्टी चलाउने, तलका कमिटीको कुरा सुन्ने, निर्णय गर्दा छलफल गर्ने, पारदर्शिता अपनाउनेजस्ता सन्दर्भ बाँकी छन्, जुन सच्चिनेभन्दा नसच्चिने सम्भावना बाँकी नै छ ।’

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि दाहाल–नेपाल नेतृत्वको नेकपा निरन्तर सडकमै थियो । काठमाडौंमा मात्रै तीनपटक ठूल्ठूला शक्ति प्रदर्शन गरेको उक्त समूहले देखाउने ‘शक्ति’ दिनदिनैको आधारभूत आवश्यकतासमेत पूरा गर्न हम्मे पर्ने कार्यकर्ता थिए । उनै कार्यकर्ताबाट उल्टै चन्दासमेत लिएर दुई महिनासम्म आन्दोलनको मेस चलाएको नेकपाको नेतृत्व त्यही सिलसिलामा चितवन गएको थियो । सर्वोच्चले अपेक्षाकृत समयभन्दा

केही अगाडि नै फैसला गरिदिएपछि दाहाल–नेपाल समूहमा उल्लास बढ्नु अस्वाभाविक होइन तर आफूहरूलाई साथ दिन आइसकेका र आउने तरखरमा रहेका कार्यकर्तालाई सम्बोधन गरेर काठमाडौं फर्किएको भए पनि उनीहरूको केही बिग्रिँदैनथ्यो । त्यसमाथि फैसला आउनेबित्तिकै दाहाल–नेपालले पहिलो फोन–संवाद कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेकै थिए । तर सडकबाटै उठेका मुद्दा र जनताको भरोसालाई चटक्कै बिर्सिएर अध्यक्षद्वय आफैंले तय गरेको सभालाई सम्बोधन नगरी काठमाडौं ओर्लिए र कांग्रेस सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगे ।

नेकपाका अध्यक्षद्वयको यो गतिविधिले ‘हामीले केपी ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्नका लागि मात्रै यो आन्दोलन गरिरहेका छैनौं, आन्दोलन त केपीवादका विरुद्धमा हो’ भनेर बारम्बार गरेको उद्घोषको सरासर उपेक्षा गर्‍यो । नेकपा अनुशासन आयोगका अध्यक्षसमेत रहेका नेता अमृतकुमार बोहरा सामन्ती प्रवृत्ति आफूहरूतिरको नेकपामा पनि भएको र त्यसलाई सच्याएरै जानुपर्ने आवश्यकता रहेको स्वीकार गर्छन् । ‘ओली प्रवृत्तिसँग लड्ने भनेको त व्यक्तिसँग मात्रै होइन नि, नेताहरूको आचरण साधारण र सामान्य बनाउनुपर्छ भन्ने हाम्रो सधैंभरिको कुरा हो,’ बोहराले भने, ‘तर कहिलेदेखिको शैली रातारात परिवर्तन हुँदो रहेनछ, सच्चिएर अघि बढ्न जरुरी छ ।’

पुस ५ अघि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधि र पद्धति नमानेको भन्दै सबैभन्दा धेरै कुरा उठाए । पार्टी कमिटीले निर्णय गरेपछि मात्रै कार्यान्वयन र छलफलका लागि अघि बढ्नुपर्छ भन्ने उनको कुरामा बहुमत स्थायी कमिटी सदस्यहरू सहमत पनि थिए । तर नयाँ सरकारको समीकरण बनाउने चक्करमा यिनीहरूले पार्टीका सांसद र केन्द्रीय कमिटी सदस्यहरूलाई समेत जानकारी नदिईकन दौडधुप चलाइहाले । विनु सुवेदीले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित