बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

घोषणाको २५ वर्षपछि शिलान्यास

दैनिक नेपाल २०७७ फागुन ११ गते ६:५९

दैजी, ११ फागुन । प्रधानमन्त्री केपी ओलीले सोमबार दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सरकारले कञ्चनपुरको वेदकोट नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा (२०५२ सालमा) गरेको २५ वर्षपछि काम अघि बढेको हो। निर्माण प्रक्रिया भने स्थानीय तह निर्वाचनपछि अघि बढाइएको थियो।

९ अर्ब लागतमा निर्माण हुने औद्योगिक क्षेत्रमा साना, मझौला र ठूला उत्पादनमुखी गरी १ सय २२ भन्दा बढी उद्योग स्थापना हुनेछन्। सरकारले खानेपानी, बिजुली सहुलियत दरमा उपलब्ध गराउनेछ। उत्पादनमूलक उद्योगबाट पाँच वर्षसम्म जग्गाको भाडा लिइनेछैन।

प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र बनेपछि स्थानीयले रोजगारी पाउने, प्रविधिको विकास र हस्तान्तरण हुँदै जाने बताए। यहाँको आर्थिक विकासका लागि औद्योगिक क्षेत्र महŒवपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो।

जिल्ला वन कार्यालयले औद्योगिक क्षेत्रका लागि ०६६ सालमा जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसपछि जनचेतना सामुदायिक वन र वेदकोट सामुदायिक वनको ९ सय बिघा दिने निर्णय भएको थियो। मन्त्रिपरिषद्ले पनि चारकिल्लाभित्र औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिसकेको छ। डीपीआर र र्ईआईएको कामसमेत सम्पन्न भइसकेको छ।

तर, फिल्डमा आई भेरिफाई गरेर मात्रै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा भोगाधिकारका लागि जाने भएकाले सो काम हुन सकेको छैन। सरकारले ९ सय बिघामा औद्योगिक क्षेत्र बनाउने घोषणा गरे पनि ३ सय ४९ बिघाको मात्रै डीपीआर तयार गरी काम अघि बढाइएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित