मोरङ, ९ फागुन । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने अडान दोहोर्याएका छन् । नेकपा ओली समूहको प्रदेश १ कमिटीले शनिबार विराटनगरमा गरेको जनसभामा उनले ‘जनता (विघटन) को विपक्षमा अदालतको फैसला आए’ आन्दोलनमा उत्रने चेतावनीसमेत दिए । ‘कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला भयो भने हाम्रो आन्दोलन अगाडि बढ्छ,’ उनले भने ।
ओलीले उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा नराखेको भन्दै आलोचनासमेत गरे । उपराष्ट्रपति पुनले नेपाल पत्रकार महासंघको अधिवेशनमा प्रतिनिधिसभा विघटनको विरोधमा दिएको अभिव्यक्तिको ओलीले आलोचना गरेका हुन् । उनले सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभन्दा निर्वाचनमा आउन पुनलाई चुनौती दिए । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभएको छ, उहाँको पदले भाषण गरेर सरकारको विरोध गरेर हिँड्ने अनि संविधान मिचियो, प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाइँदैन भन्ने हो ?’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँ त चुनाव नगर्ने नै पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसेकम चुनावतिर आउनुहोस् ।’
प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले पदीय मर्यादाविपरीत कार्य गरेको टिप्पणी गरे । ‘सभामुख बनाइएको थियो एक जनालाई, सरकारविरुद्ध मुद्दा हाल्न जानुभएको छ । सरकारविरुद्ध झगडिया हो सभामुख ? सुहाउँछ ?’ उनले भने, ‘भन्न पनि लाज लाग्ने कुरा, सभामुखजस्तो पदको मान्छेले किर्ते सनाखत गर्छ ? साढे ३ बजे दर्ता गर्न लगेको कुरालाई १०ः४० बजे ल्याएको भनेर किर्ते सनाखत गर्नुजस्तो लज्जास्पद कुरा के हुन्छ ?’ संवैधानिक परिषद्बाट संवैधानिक निकायमा भएका नियुक्तिविरुद्ध परिषद् सदस्यसमेत रहेका सभामुख सापकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए भने प्रधानमन्त्रीविरुद्ध नेकपाका सांसदहरूले ल्याएको अविश्वासको प्रस्ताव दर्ताको समयलाई लिएर विवाद उत्पन्न भएको थियो ।
प्रधानमन्त्री ओलीले नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाललाई पार्टीमा फर्किन आग्रह गरेका छन् । उनले दाहाल पार्टीमा नफर्किए सिद्धिने दाबी गरे । ‘अध्यक्ष दाहाल पार्टीमा फर्किनुहुन्न र भीरबाटै लड्न खोजेको हो भने भीरबाट लड्ने मान्छेलाई राम भन्न सकिन्छ, काँध हाल्न सकिँदैन,’ उनले भने, ‘उहाँ फर्किने बाटोमा हिँड्नुभएको छैन, सिधै सिद्धिने बाटोमा हिँड्नुभएको छ ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया