काठमाडाैं, ९ फागुन । नेकपा ओली समूहले प्रतिनिधिसभा निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएको छ। विराटनगरमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायतका नेताले निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका हुन्।
सभालाई सम्बोधन गर्दै ओलीले निर्वाचन तोकिएकै मितिमा हुने र आफूहरूकै जित हुने दाबी गरे। ‘निर्वाचन तोकिएकै मितिमा हुन्छ’, उनले भने, ‘अब, अलमलिने बेला छैन। निर्वाचनको तयारीमा गाउँगाउँबाट सबै जुट्नुपर्छ।’ सरकारले पहिलो चरणको निर्वाचन वैशाख १७ गते र दोस्रो चरणको निर्वाचन २७ गते हुने तोकेको छ।
ओलीले आधिकारिक नेकपा आफ्नो समूह नै भएको दाबी गर्दै पार्टीको झण्डा र चुनाव चिह्न पनि आफूहरूले नै पाउने बताए। उनले नेकपा दाहाल–नेपाल समूहले सराप्ने राजनीति गरेको आरोप लगाउँदै अब सराप्ने राजनीति हैन विकास गर्ने राजनीति अघि बढाउन आफूलाई सबैको साथ आवश्यक रहेको बताए। उनले निर्वाचनविरुद्ध कुनै जाल, तिकडम भए आन्दोलनको आँधी ल्याउने चेतावनी पनि दिए। ‘निर्धारित मितिमै चुनाव हुन्छ। चुनाव हामीले नै जित्नुपर्छ। सूर्य चिह्न हामीले नै पाउँछौं। निर्वाचनविरुद्ध कुनै प्रकारको जाल, तिकडम भए फेरि पनि हाम्रो आन्दोलन अघि बढ्छ। त्यस्ता शक्तिलाई हामी आन्दोलनको बलले जित्छौं’, उनले भने। पार्टी भनेको मानिसको हुल मात्रै नभई देश र जनताप्रति समर्पित दल निर्माणमा आफूहरू जुटेको ओलीले बताए।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल प्रति लक्षित गर्दै ओलीले केही मानिस नेपालबाट कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्दै सिध्याउने काममा लागेको आरोप लगाए। उनले दाहाल–नेपाल पक्षलाई सभामा जनताको सहभागिता हेर्न विराटनगर आउन आग्रह गर्दै भने, ‘जनताको सहभागिता हेर्न यता आउनुस्। सभामा मात्रै हैन, सभाबाहिर पनि हेर्नु होला।’ विराटनगरको सभालाई हेर्न ड्रोनले नभ्याएको भन्दै उनले थपे, ‘आजको सभा ड्रोनले भ्याउँदैन, चन्द्रमाबाट मात्रै प्रस्ट देख्न सकिन्छ।’
ओलीले खिइँदै–खिइँदै गएका प्रचण्ड (दाहाल) को धेरै माया आफूलाई लागेको बताए। उनले भने, ‘खिइँदै–खिइँदै गएका प्रचण्डको धेरै माया लाग्छ। पहिले वैद्य, त्यसपछि डाक्टर, अहिले झाँक्रीलाई लिएर हिँड्नु भएको छ। वैद्य र डाक्टरले नसकेको झाँक्रीले के बचाउँला ?’ सिद्धिइसकेका प्रचण्डलाई आफूले पार्टीमा ल्याएर ठूलै जुरो र सिङ हालिदिएको भन्दै ओलीले जुरो र लामो सिङ भएपछि उनी गुन लगाउनेलाई नै सिध्याउन लागेको टिप्पणी गरे। अझै पनि फर्कने समय रहेकाले पार्टीमा फर्कन र जनसागरमा मिसिन ओलीले प्रचण्डलाई आग्रह गरे। उनले भने, ‘अझै पनि फर्किन चाहनुहुन्छ भने फर्केर आउनुस्। जनताको भिडमा मिसिनुस्।’
झुक्याएर हस्ताक्षर गराइएका नेताकार्यकर्ता अहिले हस्ताक्षर फिर्ता लिएर आफ्नो पार्टीमा आउने क्रम बढेको उनले बताए। जनताले गरेको विश्वासको धागो नटुटाउन आग्रह गर्दै ओलीले जनताले पार्टी फुटाउन नभई बलियो बनाउन चुनावमा जिताएर पठाएको बताए। उनले लोकतन्त्रको पक्षमा संसद् विघटन गरेको दाबी गर्दै ६४ प्रतिशत सांसदको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटन गरेको उनले प्रस्ट पारे। संसद् पुनस्र्थापना भए बहुमतको सरकार नबन्ने, त्यसपछि सरकार बनाउने र ढाल्ने खेल सुरु हुने उनले बताए। ‘सरकार ढाल्ने र बनाउने नकारात्मक अभ्यासले लोकतन्त्र कमजोर हुने भएकाले ताजा जनादेशमा जानुपरेको हो’, उनले भने, ‘कसैको प्रभावमा परेर अदालतले निर्णय गर्छ भन्ने आफूलाई विश्वास छैन। सर्वोच्च अदालतले पनि यस्ता सभा हेरेको होला, जनताको अभिमत हेरेको होला।’
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष नेपाललाई लक्षित गर्दै उनले महाअधिवेशनबाट छानेको अध्यक्षको पद कुनै खेलौना नभएको बताए। ‘कार्की ब्यांकेटमा भोज खाएर कसैले अध्यक्ष बनाइदिए भनेपछि दंग परेर हिँडेकालाई निर्वाचन आयोगले चिन्दिन भनिदियो। उहाँ कस्तो अध्यक्ष हो ?’ ओलीले भने।
ओलीले सम्बोधनको क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाको पनि चर्काे आलोचना गरेका थिए। उपराष्ट्रपति र सभामुखलाई उनले सरकारविरुद्धको झगडियाको संज्ञा दिए।
सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले स्थिरताको आन्दोलनमा देश अघि बढिरहेको बताए। उनले नेपालमा विशिष्ट परिस्थिति बनेकाले प्रतिनिधिसभा विघटन भएको स्पष्ट पारे। बाह्य शक्तिद्वारा नभई आन्तरिक शक्तिहरूबाटै देशलाई अस्थिरततर्फ धकेल्ने षड्यन्त्र भइरहेको उनले बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया