३१ आश्विन २०८३, शनिबार

सधैं दुष्प्रचारकै सहारा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ४ फागुन । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।

त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष रहेका बेला अमित शाहले नेपाल र श्रीलंकामा समेत भाजपाको सरकार विस्तार गर्ने योजना सुनाएको खुलासा गरेका थिए ।

देवको उक्त भनाइले शाह नेपालविरुद्ध षड्यन्त्र गर्न लागिरहेको भन्ने देखाउनुका साथै छिमेकी मुलुकको सार्वभौमिकतामै प्रहार गर्न खोजेको भन्दै विपक्षी भारतीय राष्ट्रिय कंग्रेस र वाम पार्टीहरूले विरोध गरेका छन् । देवको अभिव्यक्तिका सम्बन्धमा भाजपाले भने कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । त्यसो त मुख्यमन्त्री देवका लागि यस किसिमका विवादास्पद अभिव्यक्ति दिनु नौलो कुरा होइन । उनी यसअघि पनि धेरै पटक विवादास्पद अभिव्यक्तिका कारण विवादमा तानिइसकेका छन् । केहीमा त उनले सार्वजनिक रूपमै क्षमा माग्नुपरेको छ ।

नेपालका विषयमा भ्रामक र दुष्प्रचारपूर्ण टिप्पणी गर्ने देव पहिलो भारतीय राजनीतिज्ञ होइनन् । भारतको राजनीतिक वृत्तमा बौद्धिक र नेपाल मामिलाका विशेष जानकार राजनीतिज्ञको परिचय बनाएका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको संस्मरणात्मक पुस्तक ‘द प्रेसिडेन्सिअल इअर्स’ मा समेत नेपालसम्बन्धी तथ्यहीन र दुष्प्रचारपूर्ण सामग्री समावेश छ । उनको पुस्तकमा नेपालका तत्कालीन राजा त्रिभुवनले भारतीय प्रधानमन्त्री नेहरूसमक्ष नेपाललाई भारतको एउटा प्रान्त बनाउन अनुरोध गरेको उल्लेख छ ।

‘नेपालमा राणा शासनपछि राजतन्त्र आयो, उहाँको चाहना प्रजातन्त्रले जरा गाडोस् भन्ने थियो । रोचक त के भने नेपालका राजा त्रिभुवन वीरविक्रम शाहले नेपाललाई भारतको एउटा राज्य बनाउन प्रस्ताव गरेका थिए तर नेहरूले नेपाल एउटा स्वतन्त्र राष्ट्र थियो र सधैं रहिरहनुपर्छ भनेर उक्त प्रस्ताव अस्वीकार गर्नुभयो,’ भारतका विभिन्न प्रधानमन्त्रीहरूको शासन गर्ने भिन्न शैलीहरूको चर्चा गर्ने क्रममा मुखर्जीले लेखेका थिए । तत्कालीन राजा त्रिभुवनको राष्ट्रियता र नेपालको सम्प्रभुतामाथि नै प्रश्न खडा गर्ने प्रसंग लेख्दा पनि मुखर्जीले न कुनै स्रोत उल्लेख गरेका छन्, न उद्धरण नै ।

मुखर्जीको निधनको करिब चार महिनापछि यो पुस्तक प्रकाशित गरिएको थियो । पुस्तकका तथ्यहरूमाथि प्रकाशनपूर्व नै विवादसमेत भएको थियो । मुखर्जीको गत भदौमा निधन भएको थियो । उनको निधनपछि पुस्तक प्रकाशन गर्ने/नगर्ने विषयमा उनका छोरा अभिजित मुखर्जी र छोरी शर्मिष्ठा मुखर्जीबीच विवाद नै भएको थियो । उनीहरूबीचको विवाद सामाजिक सञ्जालमै छताछुल्ल भएको थियो ।

अभिजितले पुस्तकका केही तथ्यलाई परिमार्जन गर्नुपर्ने अडान राखेका थिए भने छोरी शर्मिष्ठाले त्यसको आवश्यकता नभएको अडान लिएकी थिइन् । पछि बिनापरिमार्जन प्रकाशन गरिएको थियो । पुस्तकमा रहेको नेपालसम्बन्धी अपुष्ट र भ्रामक प्रसंगबारे कान्तिपुरले जिज्ञासा राख्दा मुखर्जीका छोरा अभिजितले कुनै जवाफ दिएनन् । सुरेशराज न्यौपानेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।