
काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई प्रदुषित हुनबाट जोगाउनका लागि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
संसदीय समितिहरुमा विभिन्न विधेयक अल्झाइएको र प्रतिनिधिसभामा विधेयकहरुमाथि छलफल नै नचलाइएका र आफ्नै पार्टीबाट असहयोग भएका कारण आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रधानमन्त्री ओलीले जिकिर गरेका छन् ।
सोमबार सिंहदरवारको पुनर्निर्माण सम्पन्न भएको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको तीन वर्षे उपलब्धिबारे चर्चा गरेका छन् ।
केही व्यक्तिको साँठगाँठबाट राष्ट्रिय राजनीति प्रदुषित हुने बाटोतिर जान नदिन आफूले पछिल्लो कदम चालेको प्रधानमन्त्री ओलीले प्रस्ट पारे ।
उनले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुअघि ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्री भएको नाताले आफूले वैकल्पिक सरकार गठनको सम्भावना नदेखी प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।
‘सुरुदेखि नै सरकार सञ्चालनमा केही अप्ठ्यारा थिए, काममा व्यवधान खडा गरिएको थियो,’ उनले भने, ‘पछिल्ला एक वर्षदेखि झण्डै दुई तिहाई सांसदको समर्थन प्राप्त सरकारले विभिन्न दलीय गठबन्धनको सरकारको जस्तो नियति व्यहोर्नु पर्यो ।’
उनले एक वर्षदेखि संवैधानिक निकायहरु पदाधिकारीविहीन रहेको, संसदमा पेश भएका कयौं विधेयक छलफलमा नलगिएको गुनासोसमेत गरे ।
‘बल्लतल्ल संसदीय समितिमा लगिएका विधेयक अनावश्यक छलफलका गोलचक्करमा फसिरहेका छन्,’ उनले भने, ‘राजदूत खाली छन्, नियुक्ति गर्न दिइँदैन ।’














प्रतिक्रिया