१ कार्तिक २०८३, आइतबार

पीडितमाथि लाञ्छना, आरोपितलाई सफाइ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । जिल्ला अदालत सुनसरीले बलात्कार घटनामा पीडितको चरित्रमाथि प्रश्न उठाएर आरोपित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको पाइएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले बलात्कार घटनाकी पीडित परिसर–२६ (सांकेतिक नाम) को स्वभाव र चरित्रमाथि प्रश्न उठाएर गिरीलाई सफाइ दिएको हो  ।

पीडितको पक्षमा वकालत गर्ने सरकारी वकिलहरूलाई बहसको मौकासमेत नदिई कोइरालाले एकतर्फी सुनुवाइका आधारमा आरोपितलाई सफाइ दिएका थिए । फैसला गर्नासाथ जिल्ला अदालत सुनसरीबाट सरुवा भएका कोइरालाले त्यसको पूर्णपाठ तयार गर्नै दुई महिनाभन्दा बढी समय लगाइदिए । यसअघि काठमाडौं जिल्ला अदालतमा हुँदासमेत विवादमा परेका न्यायाधीश कोइरालामाथि न्यायपरिषद्मा समेत उजुरी छ ।

चतराधाममा बस्ने सिद्धबाबाले आफ्नो नियमित सम्पर्कमा रहेकी एक भक्तलाई गत कात्तिक ३ गते राति साढे ११ बजे फोन र म्यासेन्जर कल गरेका थिए । ती महिलाले ‘रेस्पोन्स’ नगरेपछि रोमन अंग्रेजीमा ‘हेलो, मैले मौका दिएको बेलामा चुप किन ?’ भनी कुटीमा बोलाए । साधनाबाट प्राप्त हुने दीक्षाका लागि गुरुले अवसर दिएको ठानी उनी आश्रममा गएकी थिइन् । पीडितको किटानी जाहेरीअनुसार ‘आफूले भनेअनुसार नगरे अनिष्ट हुने’ धम्की दिई चुप लागेर बस्न बाध्य बनाएर र बलात्कार गरे । घटनापछि सिद्धबाबाले ‘यो कुरा कसैलाई नभन्नू, भनेमा अनिष्ट हुन्छ’ भनेर फेरि धम्की दिएका थिए । घटनापछि डरले चुप लागेर बसेकी ती महिला काठमाडौं फर्किन् । केही सातापछि श्रीमान्‌ले सिद्धबाबा र उनीबीच भएको म्यासेजको विवरण हेर्दा ‘शारीरिक सम्पर्क’ को कुरा उल्लेख भएको थाहा पाए । अनि उनले सबै यथार्थ श्रीमान्‌लाई बताइन् ।श्रीमान्‌को अग्रसरतामा ती महिलाले प्रहरीमा किटानी जाहेरी दिइन् । सिद्धबाबाको दाबीअनुसार बालब्रह्मचारी भएकाले उनले आगो र स्त्रीलाई छुने कामसमेत गरेका थिएनन् । पीडित भनिएकी परिसर–२६ उनको आश्रममा समेत नआएको सिद्धबाबा र उनका समर्थकको दाबी थियो तर पीडितको जाहेरीका आधारमा जिल्ला अदालत सुनसरीमा मुद्दा चलेको थियो । गत वर्ष दर्ता भएको मुद्दा मंसिर २२ मा फैसला भयो र आरोपित सिद्धबाबाले सफाइ पाए ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश कोइरालाले सिद्धबाबालाई सफाइ दिनुका पछाडि केही आधार प्रस्तुत गरेका छन् । उनले पीडित भनिएकी परिसर–२६ को क्रियाकलापमा प्रश्न उठाई त्यसका आधारमा सिद्धबाबा निर्दोष रहेको फैसला गरेका हुन् । एकतर्फी सुनुवाइका आधारमा फैसला भएको हुनाले त्यसमा पीडितका तर्फबाट भएको कानुनी प्रतिरक्षा र तथ्यको विवेचना हुन सकेको छैन ।

एकपक्षीय सुनुवाइका आधारमा न्यायनिरूपण हुनु भनेको प्राकृतिक न्यायको सिद्धान्तविपरीत समेत हो । सिद्धबाबा भनिने व्यक्तिले घटनाको दिन राति बैठक बसी दिग्विजय यात्राका बारेमा छलफल गरेको र पछि आराम गरेको भनी आफ्ना उत्तराधिकारी र सेवकहरूलाई बयान गरेको फैसलामा उल्लेख छ । आफू वैदिक सनातनी रामानन्दीय वैष्णव भएकाले फेसबुक नचलाउने, मोबाइल नछुने, अनि स्त्री र अग्निबाट टाढा रहने भनी उनले बयान गरेका थिए । कात्तिक ४ गतेको घटनामा ३८ दिन बितेपछि जाहेरी दर्ता गरेको भन्दै न्यायाधीश कोइरालाले पीडित परिसर–२६ को नियतमाथि प्रश्न उठाएका छन् । पीडितले जाहेरी र पछि बकपत्रमा प्रतिवादीको घुँडामा खत रहेको बताएकी थिइन् । प्रहरीले अनुसन्धान गर्दा सिद्धबाबा भनिने व्यक्तिको घुँडामा खत भएको भेटियो । सिद्धबाबाले ती पीडित आफ्नो आश्रममै नआएको र आफूलाई नभेटेको दाबी गरेका थिए तर नभेटेको भए पीडितले घुँडाको दाग देख्ने र थाहा पाउने थिइनन् । पीडितले सिद्धबाबालाई एकान्तमा भेटेको भन्ने एउटा प्रमाण यो पनि हो । पीडितले घटना हुँदा घुँडामा घाउ भएको र खत बसेको बताएकी थिइनन् तर न्यायाधीश कोइरालाले त्यो खत घटना हुनुभन्दा अघिको भएको अर्थ लगाइदिए । न्यायाधीशले त्यो खत घटनाको दिनको होइन भनी व्याख्या गरेका छन् । उनले फैसलामा भनेका छन्, ‘यसबाट प्रतिवादीको घुँडामा रहेको खत पहिलादेखि नै रहेको स्पष्ट भएको छ ।’

प्रहरीले घटना भएको भनिएको स्थानमा मुचुल्का पनि गरेको थियो । मुचुल्कामा कोठाको आकारप्रकार र त्यहाँ रहेका सरसामानको अवस्था उल्लेख छ । न्यायाधीश कोइरालाले लुकीछिपी हुने बलात्कारजस्तो अपराधमा अरू फौजदारी अपराधमा झैं दसी प्रमाण खोजेका छन् । बलात्कारका कैयौं घटनाहरूमा प्रमाण नभेटिने र भएका प्रमाणसमेत पीडकले लोप गर्ने अवस्था हुन्छ । अझै सिद्धबाबा आश्रमको कोठा उनकै नियन्त्रणमा रहेकाले बलात्कारको प्रमाण ३८ दिनसम्म सुरक्षित रहने अवस्था थिएन । प्रमाण खोज्दै फैसलामा भनिएको छ, ‘घटनास्थल भनिएको स्थानबाट जबर्जस्ती करणीको कसुरसँग सम्बन्धित कुनै दसी प्रमाण बरामद भएको देखिँदैन ।’ त्यतिमात्रै होइन, उनले घटनालगत्तै हारगुहार माग्ने, कराउने, चिच्याउने जस्ता व्यवहार हुनुपर्नेमा नभएको भन्दै घटना भएकैमा शंका गरेका छन् । ‘घटना भएको भए मौकैमा हारगुहार माग्नु वा घटनाबारे बताउनुपर्नेमा सो गरेको देखिँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘जाहेरवाली रातको उक्त समयमा रोएको सुनेको थिएँ भन्ने एउटै पनि साक्षीहरू देखिएका छैनन् ।’ कृष्ण ज्ञवालीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।