१ कार्तिक २०८३, आइतबार

भीरकट्यामा अड्कियो अनुसन्धान

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ। भागरथी पढ्ने विद्यालयदेखि झन्डै ५ सय मिटर दूरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन।

भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनका बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी थिइन्। उनले खोचलेक बजारको एक पसलमा चाउचाउ किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनले त्यो चाउचाउ बजारबाट झन्डै ३ सय मिटर दूरीमा रहेको भीरकट्याको भीरमा खाइन्।

‘भीरकट्याको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन्। त्यतिबेला दुई जना थिए। दुवै भीरकट्याको भीरबाट छुट्टिए’, एक प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ।’ भीरकट्याबाट घटनास्थल झन्डै दुई किमि दूरीमा छ।

त्यस दिन दिउँसो २ बजेर ४७ मिनेटमा भागरथीको मोबाइल स्विच अफ भएको छ। उनको शवनजिकै झन्डै १० मिटरमा ब्याट्री झिकिएको मोबाइल भेटिएको थियो। प्रहरीको तालिमप्राप्त कुकुरले त्यो मोबाइल पत्ता लगाएको हो। प्रहरीको कुकुरले घटनास्थलबाट सय मिटरसम्म भीरकट्याको भीरतर्फ पछ्याएको प्रहरीले जनाएको छ।

‘राति पानी परेकाले त्यसपछि कुकुर अलमलमा पर्‍यो। तर, अभियुक्त भीरकट्यातिर लागेको अनुमान भने गर्न सकिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘पानी परेकाले अभियुक्तको बास्ना कुकुरले पत्ता लगाउन सकेन।’

घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी र एसएसपी जनकराज पाण्डेसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली प्रहरी चौकी खोचलेकमा छ। तर, प्रहरीले घटनाको कुनै तथ्य बाहिर ल्याउन सकेको छैन। प्रहरीले अनुसन्धानमा रहेको, फराकिलो घेरा साँघुरो भएको मात्रै बताउने गरेको छ।

टेक्निकल टिमले भागरथीको मोबाइलका दुई सिम बरामद गरेको छ। तीमध्ये उसका बुवाले प्रयोग गर्ने नेपाली नम्बरको सीमबाट त्यो दिनभर कल भएको छैन। अर्को सीम भारतीय मोबाइल कम्पनीको छ। ‘भारतीय मोबाइलमा केही कल देखिन्छन्। तर, नेपाली सिममा गरिएको कलका आधारमा प्रहरीले खासै सुराक फेला पार्न सकेको छैन’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने। शिवराज भट्टले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।