आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

नेपाल टेलिकमको यसकारणले घट्यो आम्दानी र नाफा

दैनिक नेपाल २०७७ माघ ३० गते १३:३१

काठमाडौँ, ३० माघ । नेपाल टेलिकमको नाफा तथा प्रति सेयर आम्दानीमा भारी गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा १ अर्ब ६९ करोड रुपैयाँ कम नाफा कमाएको छ ।

यद्यपि प्रथम त्रैमासको (साउन देखि असोजसम्म) तुलनामा दोस्रो त्रैमासमा भने नाफा बढेको देखिन्छ । चालू आवको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ७७ लाख थियो ।

त्यस्तै, टेलिकमको प्रतिशेयर आम्दानीमा पनि धक्का लागेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६५ रुपैयाँ ८६ पैसा रहेको टेलिकमको प्रतिसेयर आम्दानी चालू आर्थिक वर्षको सोही अवधिसम्ममा ४३ रुपैयाँ ८६ पैसामा झरेको छ ।

टेलिकमको प्रतिशेयर नेटवर्थ ६ सय ३५ रुपैयाँ ८० पैसा छ भने मूल्य आम्दानी अनुपात २८.८० गुणा रहेको छ । १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ छ ।

कोरोनाको कारण टेलिकमको आम्दानीमा भारी गिरावट आएको कम्पनीले जनाएको छ । कोभिडका कारण निकै कम मूलयमा डाटा उपलब्ध गराउँनु, अन्तर्राष्ट्रिय यात्राको प्रतिबन्धका कारण अन्र्तराष्ट्रिय रोमिङ सेवामा गिरावट आउनु जस्ता कारणले आम्दानी घट्न पुगेको कम्पनीले भनेको छ ।

बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको कमपनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित