काठमाडौं, २९ माघ । सातौं नम्बरमा बोल्ने पालो आएपछि मञ्चमा पुगेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले ‘प्रतिगमन मुर्दावाद’ लेखेको लुगा फुकालेर फालिदिइन् । मुखमा टाँसिएको कालो टेप निकाल्दै उनले भनिन्, ‘बोल्न पाइन्छ, हामीले ल्याएको शासन व्यवस्थामा बोल्न पाइन्छ, सर्वसत्तावादविरुद्ध बोल्न पाइन्छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेबापत नेकपा ओली समूहका नेता–कार्यकर्ताको आक्रमणमा परेकी झाँक्रीले बोल्न पाउने नागरिकको नैसर्गिक अधिकारको पक्षमा र सामाजिक सञ्जालमा लेखे, बोलेबापत नियमावली बनाएरै नागरिकको बोली बन्द गराउन उद्यत सरकारका विपक्षमा बोलेकी थिइन् ।
झाँक्रीजस्तै अरू महिला, आदिवासी जनजाति, थारू, मधेसी, दलित र मुस्लिम समुदायका नेताले मञ्चबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध अभिव्यक्ति दिँदा मञ्चमा बसिरहेका नेकपा दाहाल–नेपाल समूहका अध्यक्षहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल सहमतिको टाउको हल्लाइरहन्थे । अहिलेसम्म भएमध्येको ठूलो जनसहभागिताबीच नेताहरूको भाषण सुनेपछि पोडियममा उभिएका अध्यक्ष दाहालले सर्वोच्च अदालतदेखि अन्तर्राष्ट्रिय समुदायसम्मलाई सन्देश छाड्दै भने, ‘प्रतिनिधिसभा पुनःस्थापना नभए विद्रोहको आँधी र हुरी आउँछ ।’ विनु सुवेदीले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन् ।















प्रतिक्रिया