काठमाडौं, २९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अझ सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छन्। ‘भ्रष्टाचार र अख्तियारको दुरुपयोगविरुद्ध परेका उजुरीको छानबिन र अभियोजनमा आयोगले विगतमा झैं निष्पक्षता, तटस्थता र निर्भीकतालाई मूलमन्त्र मानी कार्य गर्नेछ’, राष्ट्रपति भण्डारीले बुधबार आयोगको ३०औं स्थापना दिवसका अवसरमा आयोजित समारोहमा भनिन्, ‘राज्यलाई सुशासन र समृद्धिको मार्गमा सफलतापूर्वक अघि बढ्न महत्वपूर्ण योगदान दिनेछ।’
राष्ट्रपति भण्डारीले आयोगले स्थापनाकालदेखि निर्वाह गर्दै आएको भूमिकाले सार्वजनिक उत्तरदायित्व, सुशासन र समृद्धि तथा सेवा प्रवाहमा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गरिन्। राष्ट्रपतिले भ्रष्टाचार नियन्त्रण गरी राज्यलाई समृद्धिको दिशामा अघि बढाउने तथा सुशासन प्रवद्र्धनमा सहयोग पुर्याउने गरी आयोग स्थापना भएको उल्लेख गरिन्।
उनले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन तथा आर्थिक समृद्धिमार्फत राज्यको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्र र समुदायसम्म पुर्याउने कार्यमा राजनीति, प्रशासन र नागरिक सबैको उत्तिकै र समान भूमिका रहने बताइन्। यस कार्यमा आयोगलाई सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरूलाई त्रासबाट मुक्त भएर काम गर्न आग्रह गरेका छन्। ‘धम्की, त्रासमुक्त भई निर्भीक र निष्पक्ष रूपमा काम गर्नुहोस्। सरकारका तर्फबाट कुनै हस्तक्षेप हुने छैन’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले असफल नहुने गरी मुद्दा दायर गर्न आयोगका पदाधिकारीलाई सुझावसमेत दिए। ‘फरक पर्ने गरी मुद्दा दायर गर्नु हुँदैन। निर्दोष मान्छेमाथि आरोप लाग्ने लगाउने गर्नु हुँदैन। तथ्य, प्रमाण पुगेपछि मात्रै मुद्दा चलाउनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘कुनै पनि भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति पनि दिन हुँदैन।’
प्रधानमन्त्रीले भ्रष्टाचारलाई ‘साझा शत्रु’को संज्ञा दिँदै राज्यले शून्य सहनशीलताको नीति अवलम्बन गरिएको स्पष्ट पारे। उनले भ्रष्टाचार गरी कारबाही गर्नुभन्दा भ्रष्टाचार नै हुन नदिनेतर्फ काम गर्नुपर्नेमा जोड दिए। सुरेन्द्र काफ्लेले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया