काठमाडौं, २८ माघ । सरकारले चालु आर्थिक वर्ष २०७७-७८ का लागि विनियोजित बजेट संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार विनियोजित ‘बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’ सार्वजनिक गर्दै बजेटको आकार घटाइएको जानकारी गराएका हुन् ।
उनले चालु आर्थिक वर्षको आम्दानी र खर्चको संशोधित अनुमान प्रस्तुत गर्दै विनियोजित बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने नयाँ प्रक्षेपण सार्वजनिक गरिएको बताए । यो चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ९१ दशमलव १९ प्रतिशत हो ।
अर्थमन्त्री पौडेलका अनुसार यो बजेट निर्वाचन र कोभिड खोपमा हुने खर्चसमेत जोडेर हो । उनले यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने जानकारी दिए ।
सरकारले गत १५ जेठमा संसद्मा प्रस्तुत गर्दा बजेटको आकार १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ निर्धारण गरेको थियो । त्यो बजेट खर्च हुँदा यस आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो ।
सरकारले आगामी वैशाखमा दुई चरणमा गर्ने भनेको प्रतिनिधिसभा निर्वाचन, कोरोना भाइरस (कोभिड–१९) खोपसमेतमा यो बजेट व्यवस्थापन गरेको जनाएको छ । तर नयाँ शीर्षकमा थप खर्च गर्ने भन्दाभन्दै पनि विनियोजित बजेटको आकार घटाइएको छ । जसका लागि अहिले सरकारले पुँजीगत खर्च २० प्रतिशत बिन्दुले घटाएको छ ।
अहिले अर्थ मन्त्रालयले चालु खर्चतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ हुने नयाँ अनुमान गरेको छ । यो विनियोजित बजेटको ९६.४ प्रतिशत हो । पुँजीगत खर्च विनियोजित बजेटको ८०.२० प्रतिशत अर्थात् २ खर्ब ८३ अर्ब ४ करोड हुने लक्ष्य राखिएको छ । मधुजंग पाण्डेले राजधानी दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया