
काठमाडौं, १३ माघ । भोलि बुधबारदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरू हुँदै छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको १ वर्ष ३ दिनपछि भोलि बुधबारदेखि यो अभियान शुरू गर्न लागिएको हो ।
यो अवधिमा कोरोना भाइरसको संक्रमणबाट नेपालमा २ हजार १७ जनाको मृत्यु भइसकेको छ । मंगलबारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको यो दर ०.७४ प्रतिशत हो ।
मंगलबारसम्म नेपालमा २ लाख ७० हजार ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २ हजार १७ जनाको मृत्यु भएको हो भने २ लाख ६४ हजार ८२३ जना संक्रमित निको भइसकेका छन् । निको हुनेको यो दर ९८.०४ प्रतिशत हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ५२ हजार ६८७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिसकिएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २५२ छ भने सोही संख्याका संक्रमित आइसोलेसनमा छन् ।
त्यसैगरी मंगलबारसम्म देशभरका विभिन्न क्वारेन्टिनमा १२२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पहिलोपटक २०७६ माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । नेपालमा पहिलोपटक चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।
खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबार उद्घाटन गर्ने कार्यक्रम छ । उक्त अवसरमा पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर भण्डारीले लगाउने भएका छन् ।
यी समाचारहरू पनि पढ्नुहोस्–
- देशभरका ६२ अस्पतालमा १२० खोप केन्द्र
- मंगलबारको कोरोना अपडेट : २४ घण्टामा ३०३ जना संक्रमित थपिँदा २८५ जना डिस्चार्ज, ६ जनाको मृत्यु
- नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक भण्डारीले लगाउने
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- कोरोना खोप अभियान एकैसाथ आठ जिल्लामा सुरु गरिने
- भारतले दिएको कोरोनारिुद्धको १० लाख खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण















प्रतिक्रिया