काठमाडौं, ११ माघ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ प्रदान गरेको छ ।
तर, भारतमा यो खोप लगाएकामध्ये केही मानिसमा देखिएको साईडइफेक्टका कारण नेपालमा यसको प्रभाव कस्तो रहला भन्ने आम चासो र चिन्ता सर्वत्र छ ।
यसैबीच जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले भने नेपालमा आएको कोभिसिल्ड फाइजर खोपभन्दा तुलनात्मक रूपमा धेरै नै सुरक्षित रहेको बताउँछन् ।
कोभिसिल्डबारे यस्तो छ उनको धारणा–
· अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, एस्ट्रेजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोपको १० लाख डोज भारत सरकारको उपहारको रूपमा आज नेपाल आएको छ ।
· भारतमा यो खोप ४ लाख व्यक्तिलाई लगाउँदा २ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् । ती मध्ये १ जनाको हार्ट एट्याकबाट मृत्यु भएको थियो । नर्बेमा २३ जना ज्येष्ठ नागरिकको मृत्यु भएको थियो तर त्यहाँ यो खोप होइन, फाइजरको खोप लगाइएको थियो ।
· नेपालमा आएको कोभिशिल्ड खोप तुलनात्मक रूपमा सुरक्षित मानिएको छ । यो खोपको भारत लगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्रायल गरिएको थियो ।
· भारतमा तेस्रो चरणको क्लिनिकल ट्रायल हुँदै गरेको खोप यो नभएर भारत बायोटेकको कोभ्याक्सिन नामक खोप हो । भारतमा यसको पनि भ्याक्सिनेसन भइरहेको छ । कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउने भनेका छन् । नेपालमा आएको यो खोप होइन ।
· नेपालमा आएको कोभिशिल्ड खोप ३ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ । दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबोडी बन्ने बताइएको छ । तसर्थ पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ । जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्दछ ।
· यो खोपको भारतमा ०.१५ प्रतिशतलाई साइडइफेक्ट देखिएको जनाइएको छ । खोप लगाएपछि रियाक्सन भएर एनाफाइलेटिक शकको खतरा हुनसक्छ । यस्तो भएमा आकस्मिक सुइको प्रयोगले अधिकांश व्यक्ति निको हुन्छन् ।
· सामान्य साइडइफेक्टको रूपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने र गिर्खा पर्ने लगायत हुनसक्छ जुन ५ देखि ७ दिनसम्म रहनसक्छ ।
· कुनै खोपको एलर्जी भएका, कुनै औषधिको एलर्जी भएका, अण्डा लगायत खाद्य पदार्थको एलर्जी भएका तथा बिगतमा कुनै पनि औषधिको रियाक्सन भएका व्यक्तिले बिशेष परामर्श गरेर मात्र चिकित्सकको निगरानीमा खोप लगाउनुपर्छ ।
· गर्भवती, सुत्केरी, गर्भवती हुने योजना बनाएका महिला तथा बालबालिकामा यथेष्ट अनुसन्धान भएको छैन । तसर्थ नलगाउनु सुरक्षित हुन्छ ।
· दीर्घरोगहरू जस्तै क्यान्सर, मुटु र किड्नी र फोक्सो र मस्तिष्क र विल्डिङ डिस्अर्डर र प्लेटलेट सम्बन्धी समस्या र स्नायु प्रणाली आदिको समस्या भएका व्यक्तिले यथेष्ट सुरक्षा अनुभति भएपछि वा विशेषज्ञको निगरानीमा केही समयपछि लगाउनु बुद्धिमानीपूर्ण हुन्छ ।
· नेपालमा आएको यो खोप पहिले स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शवबाहन चालकलाई लगाउने सरकारले नीति बनाएको छ ।
· कोभ्याक्स सुबिधाअन्तर्गत २० प्रतिशत जनसंख्यालाई पुग्नेगरि खोप आउँछ । उक्त खोप २ महिनापछि ३ प्रतिशत जनसंख्याको लागि आउँछ । बाँकी १७ प्रतिशतको लागि उपलब्धता अनुसार विस्तारै आउँछ ।
· अन्य खोप सरकारले तथा निजि क्षेत्रबाट उपलब्ध गराउने सरकारको योजना छ । खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, जनताको सम्पर्कमा रहेर काम गर्ने कर्मचारी, ज्येष्ठ नागरिक, दीर्घ बिरामी, बयस्क, एकपटक संक्रमण भएका अनि युवामा क्रमशः रहेको छ ।
· २०२२ सम्म सबै नागरिकको खोपमा पहुँच हुनसक्छ ।
· महामारीको नियन्त्रण हुनेबेलासम्म खोप लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।