बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

नारायणकाजीले यसरी मञ्चमै लिए पूर्वप्रधानमन्त्री माधव नेपालको हुर्मत (भिडियोसहित)

दैनिक नेपाल २०७७ माघ १० गते १४:०४

काठमाडौं, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा विभाजित भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ निर्वाचनको मिति घोषणा गरेपछि त्यसको विरोध गर्दै विभाजनको बाटो रोजेको नेकपाको प्रचण्ड–माधव खेमा यतिबेला सडक आन्दोलनमा केन्द्रित छ । तर, सडक आन्दोलनकै क्रममा शुक्रबार आयोजित विरोधसभाको मञ्चमा जे देखियो त्यसले प्रचण्ड–माधवको सहकार्यलाई पूर्वमाओवादीका अन्य नेताहरुले त्यति नरुचाएको प्रष्ट भएको छ ।

निर्वाचनको मिति घोषणालाई समेत अलोकतान्त्रिक कदम भनेर ब्याख्या गर्दै आएको उक्त समूहले शुक्रबार ‘शक्ति प्रदर्शन’का नाममा गरेको विरोधसभाको मञ्चमै नेता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री समेत रहेका नेता माधवकुमार नेपाललाई हप्कीदप्की गर्दै अपमानपूर्ण व्यवहार गरे ।

त्यतिमात्र होइन नारायणकाजीलाई सम्झाउन मञ्चमा पुगेका अन्य नेताहरुलाई पनि उनले धकेल्ने काम गरे । श्रेष्ठको उक्त हर्कतका अगाडि नेता नेपाल भने निरीह सावित भए । आफ्नो बाँयातिर समूहका प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुट्टै सोफामा र दायाँतिर सोफामा नारायणकाजी श्रेष्ठ बसेका थिए । नारायणकाजीका अगाडि एउटा पुष्पगुच्छासहितको टेबल राखिएको थियो । नेता नेपालका अगाडि भने प्रचण्ड बसेको सोफाअगाडि राखिएको टेबलको एकछेउ मात्रै देखिन्थ्यो ।

सामाजिक सञ्जालहरुमा भाइरल भएको भिडियोमा देखिएअनुसार माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच मञ्चमै औंला उठाएर भनाभन भएको छ । त्यसलगत्तै एकजना सहयोगीले आएर नारायणकाजी अगाडि रहेको पष्पगुच्छासहितको त्यो टेबल माधव नेपालको अगाडि सारिदिन्छन् र नारायणकाजीको अगाडि खाली हुन्छ ।

त्यसपछि माधव नेपालले कुनै प्रतिक्रिया जनाएको देखिदैन । तर, नारायणकाजीलाई भने नेतृ एवं उक्त सभाको सञ्चालिका पम्फा भुषाल, पछाडिको लहरमा बसेका देवेन्द्र पौडेल, नेता लिलामणि पोखरेललगायतले सम्झाउन खोजेका छन् । यद्यपि श्रेष्ठले उनीहरुलाई पनि थर्काएकोजस्तो देखिन्छ । त्यतिमात्र कहाँ हो र, उनलाई सम्झाउन गएका युवा संघका अध्यक्ष समेत रहेका दिपशिखालाई त हातै हालेर हुत्याईदिए ।

हेर्नुहोस् भिडियो–

सरसरती दृश्य हेर्दा नेताहरुबीच आसनको विषयलाई लिएर भनाभन भएको बुझिन्छ । त्यसमा पूर्वएमाले खेमाका नेता माधवकुमार नेपाललाई पूर्वमाओवादी नेता श्रेष्ठले अपमान गर्नकै लागि मञ्चमा उच्च बरियताका नेतासँग लाजै नमानी बाझेको स्पष्ट देखिन्छ ।

आफ्नै कार्यकर्ताहरुका मोबाइल र सयौं पत्रकारहरुको क्यामेराको लेन्स अनवरत रुपमा तेर्सिएको खुला स्थानमा नारायणबाजीले देखाएको यो हर्कतबाट माधव नेपालमाथिको अपमान पुष्टि हुन्छ ।

त्यसो त निर्वाचनको विरोधमा उत्रिएका नेताहरु आफै पनि जनताका लागि भन्दा आफ्नै पद, प्रतिष्ठा र कुर्सीका लागि मरिहत्ते गरिरहन्छन् भन्ने आरोप लागिरहेको छ । जनताको उक्त आरोप पनि शुक्रबारको यो हर्कतले पुष्टि गरेको छ । नेताहरु केवल आफ्नै मान, प्रतिष्ठा र कुर्सीका लागि यो सब गरिरहेका छन् ।

फरक–फरक पृष्ठभूमिबाट आएका दुईथरी नेताहरुबीचको सामञ्जस्यता नमिलेको जस्तो पनि उक्त घटनाबाट पुष्टि हुन्छ । यसबाट नेता प्रचण्ड र माधव नेपालबीचको सहकार्य कहाँसम्म र कतिसम्म भन्ने सर्वत्र प्रश्न उब्जिएको छ ।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित